

माईखोलामा आएको बाढी बस्तीमा पस्दा, सुगाबथानका २२ घर डुबानमा




भद्रपुर । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेको जनाइएको छ। समयभन्दा दुई साता अघि नै सुरु भएको मनसुनले गए राति माईखोलामा बाढी आएको र सोही बाढी बस्ती भित्र छिरेको जनाइएको हो ।
यता बाढी पस्न सुरु गरे लगत्तै स्थानीय बासिन्दाहरूले सुरक्षित स्थानतर्फ सर्न सुरु गरेका थिए। वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको अवस्था छ।
‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो’, अध्यक्ष चाम्लागाईले भने, ‘यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।’ यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको जनाइको हो।