

सरकारको सहयोगबाट राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ उचाई लिनसक्छ : सीईओ पन्थी




काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (तत्कालिन बीमा संस्थान) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् , सुन्दर पन्थी । नेपाली बीमा क्षेत्रमा पहिलो जीवन बीमा कम्पनीको रुपमा स्थापना भएर हालसम्म नेपाली नागरिकहरुको जीवन बीमा गराउँदै आएको सो कम्पनीको आज बजेट भाषणमा समेत नाम ( राष्ट्रिय जीवन बीमा कम्पनी ) समेटिएको अवस्था छ । सोही क्रममा हामीले कम्पनीका सीईओ पन्थीलाई सोध्दा उनले सरकारको सहजिकरणबाट राष्ट्रिय जीवन बीमा कम्पनी सरकारी कम्पनी भएकै नाताले पनि निकै माथि उक्लिने सम्भावना रहेको बताएका हुन् ।
बिहीबारको बजेट भाषण लगत्तै बीमा दर्पण डटकमको सम्पर्कमा आएका पन्थीले भने, ‘हामीले पनि अहिले मेहनत गरिरहेकै अवस्था छ । सबैको साझा उदेश्य भनेकै नेपाली बीमा क्षेत्रलाई सबल बनाएर यसबाट हामीसँग जोडिनु भएका बीमितहरुलाई बढी लाभ र प्रतिफल दिउ भन्ने नै हो । राष्ट्रिय जीवन बीमा कम्पनी नेपाल सरकारकै समेत स्वामित्व रहेको कम्पनी हो भन्ने कुरा त यहाँहरुलाई थाहै छ । सोही कारण सरकारी प्रक्रियामा, कार्यशैलीमा र राष्ट्रिय जीवन बीमा कम्पनीलाई अपरिहार्य र आवश्यक बनेका कतिपय नीतिहरुमा सरकारी तवरबाट सहयोग मिलेमा यसले नयाँ उचाई लिने पक्का छ ।’
विगतमा सरकारले एउटै बीमा कम्पनीबाट जीवन तथा निर्जीवन बीमा व्यसाय संचालन गरेको भए पनि हाल जीवन र निर्जीवन बीमा व्यवसायका लागि दुई वटा कम्पनीहरु छन् । जीवन बीमा कम्पनीलाई भने आज अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय बीमा संस्थनको स्तरोन्नतीमा सरकारले हातेमालो गर्न तयार भएको बजेट वक्तव्यबाट प्रस्तुत गरेका हुन् ।
ठीक यही बेलामा निर्जीवन बीमातर्फका तेस्रो पक्ष बीमाको बारेमा पनि सरकाले बीमा चेतना बढाउने र नागरिक सहभागीता बढाउने संकेत गरेको अवस्था छ ।
तर, यस बाहेक विगतमा जस्तो जीवन बीमा कम्पनीहरुले पाउने कर छुटको दायराका बारेमा भने केही पनि बोलिएको छैन ।
ठीक यस्तो बेलामा नेपाल बैंकको समेत अनुभव कमाएका अनुवभी राष्ट्रिय जीवन बीमा कम्पनीका सीईओ पन्थीले थपे, ‘सरकारले बजेटमा कम्पनीको नाम लिदा हामी पक्कै पनि उत्साहित भएका छौं । हाम्रा सम्पूर्ण कर्मचारी र सारोकारवाला साथीहरुका लागि पनि यो खुशीकै कुरा रह्यो । बाँकी भनेको आगामी दिनमा हामीले सरकारसँग, सबै सरोकारवालाहरुसँग हातेमालो गर्दै जाँदा महत्वपूर्ण उपलब्धीहरु हाँसिल गर्ने प्रशस्त सम्भावनाहरु पनि छन् ।’