

बजेट निर्माणको संघारमा, बजेट खर्च ६५ प्रतिशत हुँदा पुँजीगततर्फ ३६ प्रतिशत




काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउन अब एक दिन मात्रै बाँकी हुँदा चालु आर्थिक वर्ष सकिन करिब डेढ महिना बाँकी छ । यो अवधिमा सरकारको खर्च भने निकै कमजोर देखिएको हो।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको छ । जसमा असार १३ गतेसम्म सरकारले जम्मा ६५.६६ प्रतिशत मात्रै बजेट खर्च भएको छ । अर्थात १२ खर्ब २१ अर्ब ४० करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । जेठ १३ गते एकै दिन २२ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खर्च भएको छ ।
आगामी डेढ महिनामा सरकारले ६ खर्ब ३८ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ खर्च गर्न सकेको खण्डमा सरकारको बजेट पूर्ण रुपमा खर्च हुनेछ । अहिलेसम्म सरकारले चालु खर्च तर्फ ८ खर्ब ९ अर्ब २४ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ । यो भनेको चालु शिर्षकमा छुट्याएको खर्चको ७०.९५ प्रतिशत हो । सरकारले चालु शिर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
चालु शिर्षकमा विनियोजन भएको खर्च सरकारको प्रशासनिक, कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, सरकारले गर्ने विभिन्न सभा सम्मेलन, सरकारले दिने ब्याज अनुदान, विभिन्न मेसिनरी तथा अन्य सार्वजनिक सम्पत्तिको मर्मतमा खर्च हुने गरेको छ । सरकारले जेठ १३ गतेसम्म पुँजीगत खर्च ३६।९ प्रतिशत अर्थात १ खर्ब ३० अर्ब ५१ लाख रुपैयाँ मात्रै खर्च भएको छ । सरकारले पुँजीगत शिर्षकका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
सरकारले पुँजीगत खर्च २ खर्ब २२ अर्ब ३४ करोड ८९ लाख रुपैयाँ खर्च गर्न सकेको छैन । यस्तै सरकारले वित्तीय व्यवस्थापन तर्फ सरकारले ७६.८२ प्रतिशत खर्च गरेको छ । चालु आवका लागि सरकारले वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्येबाट २ खर्ब ८२ अर्ब १५ करोड ४ लाख रुपैयाँ बजेट खर्च भएको छ ।
यस्तै सरकारले अहिलेसम्म ६७.७९ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आवमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको सरकारले ९ खर्ब ६२ अर्ब १९ करोड ५४ लाख रुपैयाँ मात्रै संकलन भएको छ ।
साथै, कर राजस्व तर्फ ६७.५ प्रतिशत र गैरकर तर्फ ७०.६२ प्रतिशत संकलन भएको छ । सरकारले अनुदान तर्फ पाउने रकम लक्ष्यको ३१.७४ प्रतिशत रहेको छ । चालु आवको बजेट बर्षमान पुनले ल्याएका हुन् । यो बजेट कार्यान्वयन वर्तमान अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले गरिरहेको अवस्था छ।