
धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ । सेबोनले चालु आर्थिक वर्षको बजेट बक्तव्य तथा बोर्डको चालु आर्थिक वर्षको पुँजी बजार नीतिमा उल्लेख भएका विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै लाने क्रममा मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो, शर्ट सेलिङ्ग लगायत धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयन लागि समन्वय तथा सहजीकरण गर्न उक्त समिति बनाइएको जनाएको हो ।
समिति बोर्डको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा बोर्डबाट तीन जनाको प्रतिनिधित्व सहित नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र स्टक ब्रोकर एशोसियसन अफ नेपालको तर्फबाट एक-एक जना प्रतिनिधित्व रहनेगरी बनाइएको छ ।
समितिको प्रमुख कार्यसर्तहरूमा मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र शर्ट सेलिङ्गको लागि गर्नुपर्ने कानूनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थामा सुझाव दिनेस यी सेवाहरूको चरणबद्ध कार्यान्वयनका लागि आवश्यक तयारी गर्ने, धितोपत्रको दोस्रो बजार सुधार योजनासँग सम्बन्धित कार्यमा समन्वय तथा सहजीकरण गर्ने र आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था लगायत अन्य निकायहरुसँग समेत सहकार्य गर्ने रहेको सेबोनले जनाएको छ ।
धितोपत्रको दोस्रो बजार सम्बन्धी विभिन्न सेवाहरू चरणबद्ध रूपमा थप गर्दै लाने क्रममा पहिलो चरणमा मार्जिन लेण्डिङ्ग, दोस्रो चरणमा इन्ट्राडे, तेश्रो चरणमा धितोपत्र सापटी तथा उधारो र चौथो चरणमा आवरणयुक्त शर्ट सेलिङ्गको व्यवस्था गर्ने बोर्डको नीति कार्यान्वयनको लागि समितिले मार्जिन लेण्डिङ्ग सम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल प्रारम्भ गर्दै कार्य सुरुवात पनि गरेको छ।

