

यस्तो छ जीवन बीमा कम्पनीहरुको लगानीको अवस्था




काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले करिब साढे ७ खर्बको लगानी गरेको तथ्यांक सार्वजनिक भएको छ । सोही तथ्यांकलाई आधार मान्दा यो अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ लगानी गरेको देखिएको हो ।
यता, १४ वटा ठूला जीवन बीमा कम्पनीहरुले गरेको लगानी हो । यो अवधिमा जीवन बीमा कम्पनीहरुले अन्य संस्थापक सेयरमा १४ अर्ब भन्दा बढीको लगानी गरेका छन् । यो क्षेत्रमा जीवन बीमा कम्पनीहरुले १४ अर्ब १३ करोड ३५ लाख रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुले लगानीको अधिकांश हिस्सा अहिले पनि बैंकको मुद्दति निक्षेपमा नै रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ७ खर्ब बढीको लगानी गर्दा क वर्गका बैंकको मुद्दति खातामा ५ खर्ब १४ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले सूचीकृत भएका अन्य पब्लिक कम्पनीको सेयरमा १ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै यो अवधिसम्ममा इन्भेष्टमेन्ट कम्पनीको सेयरमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ५३ करोड ७० लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फण्डमा ३ अर्ब ७७ करोड ६० लाख रुपैयाँ र कृषि उत्पादन तथा वितरण शितभण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा लगायत नविकरणयी ऊर्जा परियोजना, केवलका, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा बीमा कम्पनीको लगानी ११ अर्ब २४ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, यो अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १८ अर्ब २८ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५७ अर्ब २० करोड ८० लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ, घरजग्गामा ६ अर्ब ८३ करोड रुपैयाँ, ख वर्गका बैंकको मुद्दति खातामा ५ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ र पूर्वाधार बैंकको मुद्दति तातामा ७ अर्ब १७ करोड रुपैयाँ लगानी गरेका छन् ।
साथै, जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५ करोड ३९ लाख रुपैयाँ नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचत पत्र वा ऋणपत्रमा लगानी गरेको हो।