

उद्योगी, व्यवसायीको निराशा बजेटले कम गरोस् वरिष्ठ : उपाध्यक्ष श्रेष्ठ




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अहिले उद्योगी, व्यवसायीमा देखिएको निराशालाई कम गर्ने खालको बजेट आवश्यक रहेकोमा जोड दिएका छन् । उनले बिहीबार संघीय संसदको अर्थ समितिको बैठकमा आगामी आवको बजेटका लागि सुझाव दिने क्रममा उनले स्थायित्व कायम गर्ने खालको नीति र बजेट आवश्यक रहेको बताएका हुन् ।
यता, अहिले आम सर्वसाधारणको क्रयशक्तिमा कमी आएको र उद्योगी व्यवसायीहरुमा रहेको निराशालाई कम गर्ने खालको नीति लिनुपर्ने उनको सुझाव छ ।
उद्योग कलकारखाना विस्तार हुन नसक्नुमा राजनीति अस्थिरता मुख्य कारण रहेको भन्दै उनले यसमा सुधार आवश्यक रहेको बताए । महासंघको अध्ययनले ८१ प्रतिशत योगदान निजी क्षेत्रको रहेको अवस्थामा व्यवसायीहरुलाई सम्मानित वातावरण निर्माण हुनु पर्ने उनले बताए ।
वैदेशिक लगानी निकै कम आएको अवस्थामा सरकारले बजेट बनाउँदा निकै ध्यान दिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । स्थायी नीति भएको खण्डमा उद्योग कलकारखाना खोल्नका लागि सहज हुने उनले बताए । सरकार फेरिएपछि नीतिहरु परिवर्तन हुने गरेको भन्दै नीतिमा एकरुपता कायम हुनुपर्ने बताए ।
ऐन सँगै नियमावली र कार्यविधिहरु आउनु पर्ने उनको भनाइ छ । ऐनमात्रै बनाउनु भन्दा पनि त्यसलाई कार्यान्वयन गर्नका लागि कार्यविधि र नियमावली आवश्यक हुने बताए । नागरिक एपबाट व्यवसाय दर्ता गर्ने देखिएका कामहरु गर्नुपर्ने सुझाव दिए । व्यवसाय नविकरण बाध्यता अन्त्य हुनुपर्ने महासंघको धारण रहेको उनले जानकारी गराए ।
साथै, राजस्व तिरेको आधारमा व्यवसाय नविकरण हुनुपर्ने व्यवस्था गर्नुपर्ने महासंघको धारणा रहेको उनले बताए । व्यवसायीहरुलाई राजस्व एक ठाउँमा मात्रै तिर्नु पर्ने व्यवस्था गर्नुपर्ने र कर तिर्ने वित्तिकै करचुत्ता प्रमाणपत्र दिनु पर्ने उनले वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सु्झाव दिएका छन् ।