

अपि पावरका सबै सूचकहरुमा उत्साहजनक प्रगति




काठमाडौं । नेपाली जलविद्युत क्षेत्रमा आफ्नो छुट्टै विरासत कायम गर्न सफल अपी पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा समेत आफ्नो सक्षमता प्रदर्शन गरेको छ । कम्पनीले प्रकाशन गरेको सोही तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अपि पावर लिमिटेडको नाफा ९१.८० प्रतिशतले बृद्धि भएको हो।
यता, कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९५ करोड १८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
समिक्षा अवधिमा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको मुनाफा १८ करोड ४३ लाख रुपैयाँमा सिमित थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा पनि १८।४७ प्रतिशतले बढेको छ। विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफामा सुधार देखिएको हो।
साथै, त्यसरी नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ७६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५।२० गुणा रहेको छ। ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ५९ करोड ८५ लाख रुपैयाँ रहेको देखिएको हो।