

जगदुल्ला हाइड्रोपावरलाई ठेक्काको सक्कल फाइल झिकाउन उच्च अदालत पाटनले दियो आदेश




काठमाडौं । डोल्पा जिल्लामा निर्माण हुने १ सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाका विवादित ठेक्कासम्बन्धी सक्कल फाइल झिकाउन उच्च अदालत पाटनले आदेश दिएको अवस्था छ । उच्च अदालत, पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र प्रकाश खरेलको इजलासले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई विवादित ठेक्काको बोलपत्र मूल्यांकनसम्बन्धी सक्कल फाइल नै इजलासमा ल्याउन आदेश गरेको जनाइएको हो ।
यता, मंगलबार उच्च अदालतले जगदुल्ला हाइड्रोपावर कम्पनीविरुद्ध परेको रिटमा आदेश गर्दै सक्कल फाइल झिकाउन आदेश दिएको हो । सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले गत वैशाख २२ मा जगदुल्ला हाइड्रोपावर कम्पनीविरुद्ध रिट दर्ता गरेको थियो । न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले वैशाख २३ मा जगदुल्ला हाइड्रोपावर कम्पनीविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी र कम्पनीको बोलपत्र मूल्यांकन समितिविरुद्ध दायर गरेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत अदालतले आदेश दिएको थियो ।
त्यस्तै, आफ्नो कम्पनीको प्राविधिक प्रस्तावलाई जगदुल्ला कम्पनीकको मूल्यांकन समितिले अयोग्य ठहर गर्नु सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६१, ६२ को विपरित भएको निवेदक सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीको दाबी छ । आर्थिक प्रस्तावमा बोलपत्रदाताहरूबाट कबोल गरिएको रकम प्राविधिक प्रस्तावको मूल्यांकनकै क्रममा सार्वजनिक जानकारी हुनुले सम्पूर्ण खरिद प्रक्रिया नै औचित्यहीन भएकाले प्राविधिक प्रस्ताव मूल्यांकन र त्यसकै आधारमा आर्थिक प्रस्ताव खोल्नका लागि जारी गरिएकौ सूचना बदर गर्न र सम्पूर्ण खरिद प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश समेत निवेदकले माग गरेका हुन्।
जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी र सिनो हाइड्रो कर्पोरेसन योग्य रहेको भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले वैशाख २४ मा आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो । जगदुल्ला कम्पनीले वैशाख २४ मा खोलेको आर्थिक प्रस्तावबाट सबैभन्दा कम मूल्य कबोल गरेपछि ठेक्का जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीले पाउने भएका छन् । कम्पनीसम्बद्ध स्रोतका अनुसार सिनो हाइड्रोले मूल्य अभिवृद्धि कर (भ्याट सहित) १५ अर्ब ७ करोड रुपैयाँ र जियाङ्सी र एएनकेले १३ अर्ब ७३ करोड रुपैयाँ रकम कबोल गरेका थिए । प्राप्त आर्थिक प्रस्ताव मूल्यांकन भइरहेको कम्पनीले जनाएको छ ।
साथै, जगदुल्ला लिमिटेडले माघ ६ मा दोस्रो पटक आयोजनाको ठेक्का प्रक्रिया आहृवान गरेको थियो । यसअघि २०८१ जेठ २० मा सिभिल र हाइड्रो मेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन ईपीसीतर्फ आहृवान गरेको ठेक्का प्रक्रिया विवादमा परेपछि रद्द भएको जनाइएको हो ।