

अधिकांश सूचकमा अब्बल रहेको नेपाल लाइफ, नाफा बढाउन सफल




काठमाडौं । नेपाली बीमा क्षेत्रमा आफूलाई छु्ट्टै ब्राण्डको रुपमा स्थापित गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको सोही अपरिष्कृत वित्तीय विवरण अनुसार नेपाल लाइफले ६५ करोड २३ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो।
यता, गत वर्षको समिक्षा अवधिमा भने नेपाल लाइफले ६० करोड ३ लाख रूपैयाँ खुद नाफा गरेको थियो ।
जीवन बीमा कम्पनीले गत वर्षको समिक्षा अवधिमा कायम रहेको जीवन बीमा कोष १ खर्ब ८८ अर्ब रूपैयाँबाट चालु आर्थिक वर्षमा २ खर्ब २५ अर्ब रूपैयाँ बनाएको वित्तीय विवरणमा देखिन्छ।
यसपालि नेपाल लाइफले तेस्रो त्रैमाससम्म ३२ अर्ब रूपैयाँ खुद व्याज आम्दानी कायम गर्दा, कुल आम्दानीतर्फ ४७ अर्ब ७२ करोड रूपैयाँ, कुल खर्चतर्फ ४४ अर्ब ९० करोड रूपैयाँ कायम गरेको देखिन्छ।
साथै, गत साता मात्रै पाँच अर्ब रुपैयाँ लगानी बराबरको नेपाल लाइफ इन्भेस्टमेण्ट कम्पनी खोल्न सफल नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख रूपैयाँ रहेको वित्तीय विवरणमा देखिन्छ । त्यस्तै, लाइफ इन्स्योरेन्सले महाविपत्ति कोषमा भने १ अर्ब ३२ करोड रूपैयाँ तथा जगेडा कोषमा १ अर्ब १८ करोड रूपैयाँ कायम गरेको बेलामा यता ईपीएस ९.६३ रूपैयाँ रहेको अवस्था छ । जीवन बीमा कम्पनीहरुको सूचांकको आधार हेर्ने हो भने नेपाल लाइफ इन्स्योरेन्स विभिन्न सूचकहरुमा एउटा सबल कम्पनी रहेको हालसालै प्रकाशित यही रिर्पोटलाई समेत आधार मान्न सकिन्छ ।