
सासेक सदस्य राष्ट्रबीच भन्सारसम्बन्धी पूर्व–आगमन सूचना आदानप्रदान समझदारी

काठमाडौं । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत नेपाल, भुटान, बङ्गलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउनेसम्बन्धी समझदारी भएको छ ।
सासेक राष्ट्रहरूका भन्सार प्रशासनबीच व्यापार सहजीकरण तथा मालवस्तुमाथि भन्सार नियन्त्रणका लागि आगमन–पूर्वको सूचना आदानप्रदानसम्बन्धी सहयोगको आशयपत्रमा चार देशका भन्सार प्रशासनले हस्ताक्षर गरेका हुन् ।
माल्दिभ्समा आयोजित सासेकको १४औँ भन्सार उपसमूहको बैठकका अवसरमा बुधबार (२०८३ भदौ ३ गते) उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भूसालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूबीच मालवस्तुको पूर्व–आगमन सूचना आदानप्रदान गर्नु रहेको छ । यसअन्तर्गत मालवस्तु सम्बन्धित भन्सार कार्यालयमा आइपुग्नुअघि नै उपलब्ध सूचनाको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न सकिनेछ ।
पूर्व–आगमन सूचना प्राप्त भएपछि भन्सार प्रशासनलाई मालवस्तुमाथिको नियन्त्रण थप प्रभावकारी बनाउन तथा आवश्यक वस्तुको छिटो र सहज जाँचपास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस व्यवस्थाले व्यापारिक प्रक्रियामा लाग्ने समय तथा लागत घटाउनुका साथै वैदेशिक व्यापारलाई थप सहज, पारदर्शी र पूर्वानुमानयोग्य बनाउन योगदान पुग्ने भन्सार विभागले जनाएको छ ।
चार देशका भन्सार प्रशासनबीच भएको यो समझदारीले सासेक सदस्य राष्ट्रहरूबीच सूचना आदानप्रदान र क्षेत्रीय व्यापार सहजीकरणलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।

