

नेपाल आतंकवादको पक्षमा नरहेको परराष्ट्रमन्त्री डा. आरजू राणाको दाबी




काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्नेमा जोड दिएकी हुन्।
उनले भारत, काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज यहाँ आयोजित सभामा नेपाल सधैं आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरेकी हुन् । मन्त्री डा राणाले भने, ‘नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।’
आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उनले नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट गरे । यसैले काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भर्त्सना गरेको मन्त्री डा राणाले दाबी गरिन् ।
उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतंकवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको बताए । नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री डा. राणाले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौंदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि हो भनिन् । ‘हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन् । हामी सधैं खुसी या संकटको समयमा एकसाथ उभिएका छौं । भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो’ उनले भनिन्।
साथै, मन्त्री डा. रााणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिएकी छिन्। त्यस अवसरमा उनले उक्त आतंकवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेकी हुन् ।