

पटक–पटक बक्रदृष्टिको निशानामा बीमा एजेन्ट : कस्ले बुझ्दिने मर्का ?




काठमाडौं । आफ्नो दुःखजीलो गरेर खाने भुँई मान्छेदेखि न्यून आय भएका गरिबहरु संसारका त्यही व्यक्ती हुन् जस्लाई कसैले होच्याउँन, दपेट्न, आवश्यकता अनुसार प्रयोग गर्न तथा निहित स्वार्थ पूरा गर्ने माध्यम बनाउँन कर्याप झ्याप पार्ने गरिएका हुन्छ ।
अहिले बीमा क्षेत्रमा पनि त्यस्तो सन्दर्भ केहीहदम्म मेल खाएको यस क्षेत्रका बृद्धिजीवी तथा अनुभवीहरुले बीमा दर्पण डटकमसँग आफ्नो अनुभव सुनाएका छन् । आफ्नै श्रम गरेर खाँदा पनि बीमा क्षेत्रमा धेरै जनाको अकारण शिकारमा पर्दै आएका व्यक्तीहरु हुन् बीमा क्षेत्रको मध्यस्तकर्ता या न कि (बीमा अभिकर्ता) । वास्तवमा उनीहरु नभई जीवन बीमा व्यवसाय सम्भव छैन । त्यसमा पनि नेपाल जस्तो न्यून आय भएको र गरिबीको रेखामुनी रहेको देशमा बीमा अभिकर्ता त्यस्ता व्यक्तीहरु हुन् जसले आम जनतालाई बीमाका बारेमा बुझाउँनेदेखि उनीहरुलाई बीमा गराउँन लगाउने र मर्दा पर्दा उनीहरुले पाउँने (बीमांक रकम) दिलाउन मद्धत गर्छन् । तर, पछिल्लो समय शिक्षित बीमा अभिकर्ताहरुको संख्या बढ्दै जाँदा अभिकर्ताहरुले आईफोन बोक्ने कुरा, उनीहरु चट्ट परेर कोट पाइन्ट तथा राम्रा पहिरनमा सजिएर हिडेका कुरा, दुई चार देश घुम्ने कुरा र उनीहरुको चार पाङ्ग्रे सवारी चढ्ने कुराहरुलाई, केही कम्पनीले कुनै खबतमा नदिएको दाबी भुक्तानी (पेण्डीङ क्लेम) सँग जोडेर हेर्नुले बीमा अभिकर्ताहरुलाई निरुत्साहित मात्रै तुल्याएको छैन मेहनतका साथ अग्रपंक्तीमा खट्ने उनीहरुको स्व–श्रमको समेत अवमूल्यन हुन पुगेको देखिन्छ ।
मिडीया आर दर भ्वाइस अफ भ्वाइसलेस
तर, पछिल्लो समय मिडीयाहरुले आवाज बिहीनहरुको आवाजको रुपमा आफ्नो पहिचान स्थापित गर्न स्थान दिएको भन्दै कतिपय अभिकर्ताहरुले गर्व महशुस समेत गरेका छन् । विदेशी भुमीमा काम गर्न जाने र आफ्नो शरिरमा शक्ती हुन्जेल अरु देशको मरुुभमी रुगेर बस्नु पर्ने, रगत, पसिना बगाउनु पर्ने बाध्यता हटाउन बीमा क्षेत्रले नै सिर्जना गरेको स्वदेशका रोजगारी र अभिकर्ताहरुको मेहनत बुझ्न थोरै संख्यामा कोही आईदिँदा पनि उनीहरुले आफूलाई निकै ठूलो राहात महशुस हुने बताएका छन् ।
किन माग्दैछन् अभिकर्ताले मिडीयाको साथ ?
नेपाली बीमा क्षेत्रको इतिहास आफैमा लामो छैन । त्यसमा पनि बीमा गर्न केही पैसा जोहो गर्ने पर्ने भएकाले नेपाल जस्तो गरिबीको रेखामुनी रहेको देशमा कसैले दाल, भात खान छोडेर बीमा गर्छन् भन्ने छैन । तर, त्यही वर्ग जसलाई दाल, भात खान गाह्रो छ (उदाहरणका लागि) त्यस्ता वर्गकै परिवारमा दीर्घ रोग लागेमा, आफ्नो काखमा रहेका बालख छोराछोरी वा श्रीमान् बित्दा साहाराका स्वरुप बीमाले पैसा दिने गर्छ । बीमाबाट पाइने खर्च विगतमा क्रिया खर्च हुँदै, पढाईको लागि सहायता दिने खर्च, घातक रोग लाग्दा चाहिने औषधि उपचार खर्चहरुमा जोडिदै गयो । अहिले हेर्ने हो भने बुढेसकालको साहाराको रुपमा पनि बीमा जोडिएको छ । दम्पत्य जीवनमा पनि बीमाले साथ दिएकै छ । अर्बौै रुपैयाँ बराबरका निर्जीवन बीमादेखी तीन, चार करोड रुपैयाँसम्मका जीवन बीमा समेत माग हुन थालेका छन् । नेपाली समाजमा कसैले चार करोड रुपैयाँ दुःखको बेलामा पाउँनुलाई अझै पनि सानो रकम मानिदैन । भुकम्प र प्राकृतिक विपत्तीको बेलामा चाउचाउका प्याकेट र दुई बोतल पानी (केही लिटर तेल, केही किलो चामल) थाप्नु पर्ने आफ्नै बाध्यता खेप्दै आएको नेपाली समाजमा वास्तविक अफ्ठयारोमा बीमा उद्योगले दिने करोडौ रुपैयाँको योगदान जस्लाई परेको छ उनीहरुले त्यसलाई पक्कै ठूलो र अपरिहार्यकै रुपमा बुझेका छन् । यद्यपी बीमा दाबी–भुक्तानीको प्रकृयालाई केही सरल र सहज ढंगले प्रविधि मैत्री बनाउँनु पर्छ भन्ने रचनात्मक सुझावहरु पनि बीमितहरुले उठाई रहेको पाइन्छ । त्यसलाई बदलिदो समयको मागको रुपमा पनि हेर्न सकिन्छ । राज्यसत्ताकै (टेस्ट) स्वाद फेर्न नागरिकबाट माग हुन्छ भने आफूले दुःख गरेर कमाएको पैसाले किनेको बीमाको भुक्तानी समयमै चाहिन्छ भन्नु निकै अर्थपूर्ण पनि देखिन्छ ।
तर, विगतमा मिडीयाबाट बीमाको वास्तविक महत्वलाई ओझेलमा पार्दै यस क्षेत्रको नकारात्मक पक्षको बारेमा बढी प्रचार हुँदै आएको थियो । त्यसबाट पनि आम मानिसमा बीमाले पैसा दिँदैन भन्ने भ्रम व्याप्त हुन गएको थियो । अहिले बढ्दै गएको (मिडीया लिट्रेसी) ले पनि कुनै पनि क्षेत्रलाई अकारण भत्काउने भन्दा पनि त्यस्ता क्षेत्रको विकासका लागि आवश्यक खाँचो औँल्याउने काम विश्व जगतमा नै अभ्यास हुन थालेका छन् । कुनै पनि क्षेत्रको वास्तविक महत्व बिर्सिएर करको दायरामा जोडिएका संस्था, निश्चित उदेश्य बोकेका क्षेत्र र देशव्यापी रुपमा पुर्याइएका योगदानलाई चटक्कै कसैले बिर्सीन्छ भने त्यस्तो ठाउँमा जान्ने बुझ्नेले प्रकाश पार्ने समय पनि नजिकिएको बीमा क्षेत्रमा आफ्नो जीवन बिताएकाहरु बताउँछन् । बीमा अभिकर्ताहरुको पनि योगदानको वस्तविकतामा चर्चा हुँदै गर्दा पछिल्लो समय बीमा अभिकर्ताहरुले मनग्गे जोखिमलाई बीमाको दायरामा ल्याउँन सफल भएका छन् । विद्यमान प्रावधानमा टेकेर लामो समय काम गरेका कतिपयले राम्रो प्रगति हाँसिल गरेको उदाहरण समेत आउँने गरेका छन् ।
बीमाका फ्रन्ट डोर
बीमा अभिकर्ताहरु बीमा क्षेत्रका सबैभन्दा पहिलो सिडी हुन या भनौ फ्रन्ट डोर पनि हुन् । उनीहरुले दिनरात, घाम पानी नभनी बीमा बुझ्दै नबुझेका नागरिकलाई बीमाको बारेमा बुझाएर उनीहरुकै सुरक्षा गर्ने गर्छन् । राज्यको नियकायबाट इजाजत पत्र (लाइसेन्स) पाएका उनीहरुलाई बीमा ल्याउँन त्यति सहज भने छैन । जति धेरै व्यवसाय ल्यायो त्यसको आधारमा नै उनीहरुको आम्दानी पनि निर्धारण हुने गर्छ । यस हिसाबले हेर्दा बीमा अभिकर्ताहरुले जति श्रम गर्छन् त्यति नै प्रतिफल पाउँछन् । उनीहरुले आफ्नो श्रमको सम्मान हरबखत खोजी रहेको पाइन्छ ।
बीमा ल्याउँन मुस्किल
कुनै पनि क्षेत्रको बजारीकरण (मार्केटिङ) त्यति सहज काम होइन । किनभने बजारीकरण गर्ने भनेको आफूले केही खरिद गर्ने नभई दोस्रो व्यक्ती वा कम्पनीको पैसा आफ्नो साथमा ल्याउँनु हो । त्यसमा पनि नेपाल जस्तो देशमा बीमा पेशामा लागेर नागरिकहरुको बीमा गराउँदा एउटा अभिकर्ताले खेप्ने सास्ती कहाँ कम होला र ? कतिपय अनुभवी अभिकर्ताहरुले नै नागरिकको सुरक्षाका लागि उनीहरुकै जोखिम बहन गर्न समेत २७ पटक ढोग्नु परेको सुनाउँने गरेका छन् ।
आफ्नै कमिशन खाँदा आँखा लगाउने धेरै
पैसा कमाउने रहर कसलाई पो नहोला र ? तर पैसा कसरी कमाइन्छ ? भन्ने कुराले व्यक्तीको जीवनमा ठूलो माने राख्छ । सरकारलाई सफा ढंगले कर तिरेर आफ्नो मेहनतका साथ खान पाइने भएकाले पनि नेपालमा बीमा अभिकर्ता पेशामा यूवाहरुको समेत आकर्षण बढ्दो छ । तर, उनीहरुले समेत विगतमा यस विषयका ज्ञान नभएको कतिपय अग्रजहरुले केही कानुनका छिद्रमा टेकेर बीमा गराएका एकद घटनाले समग्र उद्योगलाई नै बदनाम गराउने किसिमका प्रपञ्चहरु रोकिनु पर्ने बताउँने गरेका छन् । बीमा बुझाउँनु भन्दा अगाडी बीमाको महत्वको बारेमा आवश्यक जानकारी राख्ने अभिकर्ताहरुको संख्या बढ्दै गर्दा उनीहरुले मनग्गे कमाउन थालेका छन् । त्यही कमाईमा सकैको नराम्रो नजर नलागोस् भन्ने उनीहरुको दृष्टिकोण रहेको बुझिएको छ ।
दोष लगाउन सहज
बीमा क्षेत्रमा नागरिक, बीमा कम्पनी र नियामकसँग प्रत्यक्ष सम्पर्कमा हुने भएकाले अभिकर्ताहरुको जिम्मेवारी धेरै छन् । त्यसैले उनीहरुलाई बेला बेलामा दोष लगाउन समेत सहज हुने देखिएको छ । बीमा कम्पनीले गर्ने फितलो जोखिमांकनदेखि नियामक निकाय नेपाल बीमा प्राधिकरणले चालेका कतिपय पाइलट प्रोजेक्टका शिकार पनि बीमा अभिकर्ताहरु नै हुने गरेका छन् । नियाकमले नै बीमा कम्पनीहरुले अरुको नक्कल गरेर बीमालेख ल्याए भन्दा त्यस्ता प्रोेडक्ट बेच्ने अभिकर्ता मात्रै दोषी हुन कि होइनन् ? भन्ने आवाजहरु बेला मौकामा गुञ्जिने गरेका छन् ।
हेयको दृष्टि
एउटा यस्तो समय थियो जति बेलामा बीमा अभिकर्ताहरुले आफ्नो पेशाको प्रकृति खुलाउन समेत खासै मन गर्दैन थिए । उनीहरुले लामो समय बीमाको बारेमा व्याख्या गर्दा पनि उनीरुको बीमा कसैले किन्दैन थिए । बीमाको पहुँच कम थियो । अभिकर्ताहरुले शून्य तलबमा समेत काम गर्नु पर्ने अवस्था थियो । अहिले समाज शिक्षित हुँदै गयो । बीमा गराउनेहरुको संख्या बढ्न थाले । बीमाका कार्यक्रमहरुमा वृद्धि हुन थाले भने बीमा अभिकर्ताहरुले समेत कतिपयलाई पत्याउनै गाह्रो हुने किसीमका (मोटा रकमका) आम्दानी समेत गर्न थालेका छन् ।
अर्थ विज्ञानलाई राम्ररी जोडेर करको दायरामा बीमा गराउन पाउने भएकाले अभिकर्ताहरु यो पेशालाई आफ्नो रोजीरोटी बनाएको जगजाहेर नै छ । कुनै पेशामा कसैले गरेको असाधारण सफलतालाई हेरेर अरु कसैले नयाँ सुरुवात गर्ने वा पुरानाले सहि दिशामा हिडेर उत्तम नेत्तृत्वको बाटो देखाउँने कुरा बीमा अभिकर्ताहरुको हकमा पनि मेल खान जान्छ । लाखौ यूवाहरु अभिकर्ता पेशामा जोडिदा धेरै जनालाई कलिलो ओठमा जुँगाको रेखी बस्दै गर्दा हरियो पासपोर्ट बोरेर विदेश जानबाट समेत बीमा अभिकर्ता पेशाले जोगाएको छ । यसको वास्तविक महत्वका बारेमा उजागर गर्न आवश्यक रहेको अनुभवि अभिकर्ताहरु सुनाउँछन् ।
शिक्षित एजेन्टको संख्या भर्खर बढ्दै
बीमा क्षेत्रमा धेरै पढेलेखेका मानिसहरु कमै लाग्छन् भन्ने भनाई विगतमा व्याप्त भएको पाइन्छ । तर, त्यसमा समयक्रमको चक्र फेरीएसँगै निकैहदसम्म परिवर्तन आएको अवस्था छ । बीमा गर्ने अभिकर्ताहरुले आफ्नो शैक्षिक प्रगति र बीमा अभिकर्ता पेशालाई सँगसँगै लान थप सहज मान्न थालेका छन् । एक त उनीहरुसँग आय आर्जनको स्रोत हुन्छ, दोस्रो भनेको पढ्नका लागि बीमा पेशाले केही बाधा गर्दैन । उनीहरुले आफूले अनुकुल समय निकालेर पनि बीमा क्षेत्रमा धेरै गर्न सकिने उदाहरण पेश गर्दै आएका छन् ।
तालिमको कमी
कतिपय मुलुकमा बीमा अभिकर्ताहरुलाई निकै लामो समयसम्म तालिम दिइन्छ । त्यस्तै यसलाई एउटा विषयकै रुपमा लामो समय पढाईने गरेको पनि बीमा क्षेत्रका अनुभवीहरु सुनाउँछन् । नेपालमा भने बीमा अभिकर्ताहरुले लिने तालिमको अवधि केही अपुग हुने गरेको अभिकर्ताहरुको गुनासो छ । यसरी हेर्दा बीमाको मुख्य काममा हात हाल्ने उनीहरुलाई तगडा बनाउँन आगामी दिनमा नियामक निकाय र बीमा कम्पनीहरुले सोच्नु पर्ने देखिन्छ ।
संगठन मजबुत हुन जरुरी
अभिकर्ताहरुको संगठन अन्य संघ संगठनको तुलनामा निकै फरक प्रकृतिको हुन जरुरी देखिन्छ । एक त उनीहरुले गर्ने कार्य प्रकृति भनेको बीमा बुझ्नै नबुझेको जनप्रतिनिधी, बुद्धिजीवीदेखि आम जनतामा बुझाउनु पर्नेछ जुन काम उनीहरुले हिमाली क्षेत्रमा यार्सागुम्बा खोजे भन्दा सहजै व्यवसाय आउने अवस्थामा छैन । त्यसमा पनि कसैले राम्रो व्यवसाय गर्न खोज्दा उनीहरुको खुट्टा तान्नेहरुको पनि के नै कमी होला र ? यस्तो अवस्थामा अभिकर्ता को हुन् ? उनीहरुको दुख संघर्ष के कती हो ? उनीहरुका कमिशन कति वैध अवैध हुन् ? गलत गर्ने अभिकर्ताहरुलाई के कस्ता कारबाही हुने हो ? अभिकर्ता एक्लैले गल्ती गर्छ, करोडौ कुम्ल्याउँछ कि त्यहाँ भागबण्डा पनि लाग्ने गर्छ ? नियामक निकाय, पुनर्बीमा कम्पनी, सम्बन्धित बीमा कम्पनीले कतिको जिम्मा लिएका छन् वा उनीहरु कहाँ चुकेका छन् भन्ने विषयमा अब अभिकर्ताहरुको संगठन बोल्नु पर्ने बेला आएको छ । उनीहरुले आफ्नो वास्तविकताको उजार गर्न, सत्य बाहिर ल्याउँन र भ्रमका खेती छर्न अभिकर्ताहरु माथि कहिकतैबाट कुनै खोक्रो प्रयास भएका छन् भने त्यसमा बीमा अभिकर्ताका नेताहरुले समेत आफ्ना स्पष्ट धारणा राख्नु पर्ने बेला आएको नेपाल बीमा प्राधिकरणमा निकै लामो समय काम गरेका तथा नेपाली बीमा क्षेत्रलाई दैनिक नजिकबाट नियालिरहेका कतिपय प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले समेत धारणा दिएका छन् ।
नियामकको अदुरदर्शीता
खुलम खुल्ला अभिकर्ताहरुको विषयमा ठूला सवालहरु उठ्दा सबैभन्दा त्यसको जिम्मेवार बीमा क्षेत्रको नियामनकारी निकाय नेपाल बीमा प्राधिकरण नै हुनुपर्ने देखिन्छ । किनभने अभिकर्ताहरुलाई मजबुद किसिमका तालिम दिन, उनीहरुका पेशागत सुरक्षाका ग्यारेन्टी गर्न, अभिकर्ताहरुले दैनिक गरिरहेका गतिविधिहरु हेर्न नियामक निकाय नेपाल बीमा प्राधिकरणले नै आफ्ना संयन्त्रहरु बलियो बनाउनु पर्छ । एकातिर बीमाको नामका गलत धन्दा भईरहने र अर्कातिर मुख्य अधिकार प्राप्त सरकारी संस्था, यस क्षेत्रको नियामक निकायलाई मुकदर्शक भएर बस्ने छुट कदापी छैन । बरु अभिकर्ताहरको संख्यात्मक भन्दा गुणत्मक वृद्धितर्फ पनि नियामकले सोच्नु पर्छ । होइन भने बीमा अभिकर्ताहरुका गतिविधिमा दैनिक विभिन्न क्षेत्रबाट प्रहार भई रहने छन् र उनीहरुले साना ठूला मारहरु अकारण खेपि रहनु पर्नेछ ।
बीमा क्षेत्रको जिउँदो अभिभावक जस्तो जीवित संस्था नेपाल बीमा प्राधिकरण हुँदा हुँदै बीमा अभिकर्ताहरुले कहिकतैबाट गर्वे टुहुरो बालक जस्तो दर्दनाक अवस्था खेप्नु पर्ने बाध्यताबाट मुक्ति पाउनु पर्ने आवाज बीमा क्षेत्रमा सुनिन थालेको छ ।