
भोलिदेखि शिक्षक महासंघको निर्णायक शैक्षिक हडताल



काठमाडौं । काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा आम शैक्षिक हडताल घोषणा गरेका छन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरिएको छ ।
‘नेपाल शिक्षक महासंघ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा छ । यसैक्रममा २०८१ चैत्र २० गतेबाट काठमाडौमा शैक्षिक सडक आन्दोलन चलिरहेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो,’ विज्ञप्तिमा भनिएको छ ।
देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारीहरुलाई आग्रह गरिएको छ ।
महासंघले आन्दोलनको अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ ।


