

कुलमानबारे प्रम ओली : इमानदारिता नभएको कर्मचारी हट्नु सामान्य प्रक्रिया




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इमानदारिता नभएको कर्मचारी हट्नु सामान्य प्रक्रिया भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने मन्त्रीप्रति लोयल्टी (इमानदारिता) नभएको कर्मचारी हट्नु सामान्य प्रक्रिया भएको बताए ।
कर्मचारी हटाउने जस्तो सामान्य विषय उठाएर संसद् अवरोधको गर्नु उचित नहुने उनको भनाइ छ ।
‘मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो,’ उनले भने, ‘देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्न ।’
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्ष सांसदले जवाफ माग गरेका थिए ।