
सांंसदको प्रश्न -“ग्यास सिलिन्डरभित्र लेदो कसरी हुन्छ ?

काठमाडौं । सांसद कालीबहादुर सहकारीले ग्यास सिलिन्डरभित्र ‘लेदो’ हुने गरेको भन्दै त्यसबारे छानबिन र प्रभावकारी अनुगमनको माग गरेका छन्।
मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले भरिएको ग्यास सिलिन्डर लामो समय टिक्ने तर आधा सिलिन्डर लिँदा ‘लेदो’ भएको कारण छिट्टै सकिने उपभोक्ताको गुनासो रहेको उल्लेख गरे।
उनले ग्यास उद्योगको भूमिका र नियतमाथि प्रश्न उठाउँदै भने, “ग्यास सिलिन्डरभित्र लेदो कसरी हुन्छ ? लेदो हुनुमा ग्यास उद्योगको नियतका कारण हो कि, कसको ? यस सन्दर्भमा किन अनुगमन हुँदैन ?”
सांसद सहकारीले उपभोक्ताले पटक–पटक गुनासो गरिरहे पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन र आवश्यक कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले ग्यासको गुणस्तर, परिमाण र सिलिन्डरभित्र देखिने अवशेषबारे निष्पक्ष छानबिन गरी उपभोक्ताको विश्वास कायम गर्न आग्रह गरे।

