
राष्ट्र बैंकको आँकडा अनुसार विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब पुग्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा विदेशी विनियमको सञ्चिति २३ अर्ब ६९ अर्ब नाघेको अवस्था छ । समिक्षा अवधिमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म विदेशी मुद्रको सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ कायम भएको हो ।
यता, राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले वृद्धि भई २०८१ माघ मसान्तमा २३६९ अर्ब ८ करोड रुपैयाँ पुगेको बेलामा अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको हो।
साथै, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ माघ मसान्तमा १३.९ प्रतिशतले वृद्धि भई २१०५ अर्ब १४ करोड रुपैयाँ पुगेको तथ्यांकमा देखिन्छ। बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ माघ मसान्तमा ३७.१ प्रतिशतले वद्धि भई २६३ अर्ब ९३ करोड रुपैया कायम हुन पुगेको छ। २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको आँकडा राष्ट्र बैंकले सार्वजनिक गरेको हो।
आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

