
सात महिनामा भित्रिएको रेमिट्यान्स ९ खर्ब भन्दा माथि



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ९ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको अवस्था छ । सोमबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको देशको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिमा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको देखिएको हो ।
यता सोही समयमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको बेलामा अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय खुद ट्रान्सफर ९८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९१० अर्ब ७७ करोड रुपैयाँ कायम रहेको तथ्यांकमा देखिन्छ ।
साथै, सोही समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत ) नयाँ लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको बेलामा अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको जनाइएको हो।

