
बैंक तथा वित्तीय संस्थाका निक्षेप संकलन ६७ खर्ब माथि हुँदा कर्जा प्रवाह ५४ खर्ब नाघ्यो



काठमाडौं । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढेर ६७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको अवस्था छ । बैंक वित्तीय संस्थाले सो रकम बराबरको निक्षप संकलन गर्न सफल भएका हुन् ।
सो विवरण राष्ट्र बैंकको फागुन ११ गतेसम्मको विवरण हो भने निक्षेप नेपाल राष्ट्र बैंकले पछिल्लोपटक अद्यावधिक गरेको विवरणअनुसार २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको हो ।
अहिले बैंकिङ क्षेत्रमा रहेको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरूमा मात्र ६० खर्ब रुपैयाँभन्दा बढी पुगेको अवस्थामा वाणिज्य बैंकहरुको निक्षेप ६० खर्ब १३ अर्ब रुपैयाँ पुगेको हो । हाल अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम ७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको देखिन्छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले ५४ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बेलामा वाणिज्य बैंकहरुमार्फत प्रवाह भएको कर्जा ४८ खर्ब २९ अर्ब रुपैयाँ पुगेको जनाइएको छ । यता पछिल्लो विवरणअनुसार विकास बैंक र फाइनान्स कम्पनीहरूले ६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
साथै, बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात सिडी रेसियो ७९.४१ प्रतिशत रहेको भने हाल अन्तर बैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ । पछिल्लो समय बैंकहरुमा अधिक तरलता बढीरहँदा केन्द्रीय बैंकले लगातार रुपमा रकम प्रशोचन गरिरहेको छ ।

