

बीमा प्राधिकरणमा दाहालको २ महिना, छोटो समयमा केही महत्वपूर्ण नतिजा देखाउँन सफल




काठमाडौं । नेपाल सरकारका सह सचिव समेत रहेका मदन दाहालले नेपाल बीमा प्राधिकरणमा दुई महिना अध्यक्षको जिम्मेवारी सम्हालेसँगै उनको कार्य प्रगति समेत सार्वजनिक गरिएको छ । सो अवधिमा उनले केही महत्वपूर्ण काम गर्न सफल भएका हुन् ।
उक्त अवधिमा अध्यक्ष दाहालले लामो समयदेखि रोकीएर रहेको बीमा नियमावली २०८१ लाई मन्त्रिपरिषदबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशन गराउन सफल भएका छन् भने बीमा ऐन, २०७९ को दफा २० को उपदफा ६ को व्यवस्था कार्यान्वयनको लागि प्राधिकरणको तरलता व्यवस्थापन समेतलाई ध्यानमा राखी ऐनमा व्यवस्था भएबमोजिमको रकम क्रमशः संघीय संचित कोषमा दाखिला गर्ने कार्य अगाडि बढाउँन सफल भए।
यता, प्राधिकरणमा लामो सयमदेखि रिक्त रहेका विशिष्ट श्रेणी, कार्यकारी निर्देशक, प्रथम श्रेणी निर्देशक र द्वितिय श्रेणी, उपनिर्देशक पदहरुको कार्यक्षमता मूल्यांकनतर्फको पदपूर्ति कार्य सम्पन्न गर्न सफल गर्न पनि बताएका छन् । दाहालको कार्यकालमा संचालक समितिको बैठकमा पेस भएको ७१ वटा उजुरीहरुमध्ये ३३ फैसला र ३८ वटा आदेश भएको र सहमति र मध्यस्थताबाट ४ वटा उजुरी किनारा लागेको उल्लेख गरिएको हो ।
त्यस्तै, बीमकले बीमा दाबी निवेदन प्राप्तभएपश्चात सोको दर्ता गरी यथाशीघ्र बीमितलाई एसएमएसमार्फत जानकारी गराउनुपर्ने, निर्जीवन बीमाको क्षति मूल्यांकन गर्न सर्भेयर खटाउँदा सोको जानकारी एसएमएसमार्फत बीमितलाई गराउनुपर्ने, जीवन बीमकले दावी भुक्तानीवापत बीमित वा हकवालालाई कानून बमोजिम भुक्तानी गर्नुपर्ने रकम बिमित वा हकवालाको बैंक खातामा दाखिला नगरी अन्य बीमालेख जारी गरी रकम समायोजन गर्न नपाउने सम्बन्धमा बीमकहरुलाई निर्देशन दिने कार्य उनको कार्यकालमा भएको तथ्य सार्वजनिक गरिएको छ।
उनले सम्पन्न गरेका विभिन्न कामका १९ बुँदाहरु बीमा प्राधिकरणले सार्वजनिक गरेको छ ।
बुँदाहरुमा वैदेशिक रोजगार म्यादी बीमाको सामूहिक पुलमा संसोधन, सम्पत्ति शुद्धिकरण तथा आतंकवादमा वित्तीय लगानी निवारणको कार्यन्वयन, बीमकका दाबीका जानकारी एसएमएसएस मार्फत जानकारी दिनुपर्ने विषयलाई प्राथमिकता दिने लगायतका विषयहरु समेटिएका छन् ।