

जलवायु परिवर्तनले चौंरीपालन व्यवसाय संकटमा




चौतारा । जलवायु परिवर्तनको असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा गरिँदै आएको चौंरीपालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ ।
तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमी, मौसम परिवर्तनजस्ता कारणले घुम्ती गोठमार्फत चौंरी, याक तथा भेँडापालन गर्नेहरु कम हुँदै गएका हुन् ।
खर्कमा चौरी र याकसँगै फिरन्ते जीवन बिताउने सिन्धुपाल्चोक जुगल गाउँपालिका तेम्बाथनका पासाङ शेर्पालाई हिमाली क्षेत्रमा आएको मौसमी परिवर्तनका कारण यो पेसामा चुनौती बढेको छ । खर्कमा पहिलेजस्तो घाँस नपाइने भएका कारण चौरीलाई घाँस पु¥याउन हम्मेहम्मे पर्दा चौंरीपालन व्यवसाय संकटमा परेको शेर्पा बताए।
पासाङको अनुभवमा हिमाली क्षेत्रमा पहिलेको तुलनामा चिसो छैन । ‘हिमालमा हिउँ छैन, त्यसैले चिसो नभएको हुनसक्छ’, उनले पहिले–पहिले बाह्रैमास हिउँले टल्कने हिमाल अहिले काला पहाडमा परिणत भएको उनले सुनाए।
पाँचपोखरी क्षेत्रको खर्कमा हुर्केर आफ्नो जीविका चौंरी तथा भेडागोठले धानेका लाङगर्चेका इन्द्रबहादुर गुरुङ भने यो पेसाबाट पलायन भए । उनका छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडीमूलुक पुगेका छन् । चौरी, भेडा धमाधम मर्न थालेपछि इन्द्रबहादुरको पुस्तौंदेखिको आयस्रोतको यो पेसामा पूर्णविराम लागेको हो । पहिले जस्तो मौसम अनि चौंरी तथा भेडाका लागि चरनयोग्य सामग्री नहुँदा आफूले पेसाबाटै विश्राम लिएको उनले बताए ।
चौंरी, याक र भेडाका लागि लेकाली क्षेत्रमा जङ्गलबीचको खर्कमा गोठ बनाएर त्यही घाँस पानी गर्ने प्रचलन छ । पहिले चौंरीका लागि पाइने पोषणयुक्त घाँस अचेल मौसम परिवर्तनकै कारण विलय भएको चौंरिपालक किसानको भनाइ छ । मौसम चौंरीअनुकूल नभएपछि घाँसको अभाव हुने, अन्य चरनयोग्य प्राकृतिक दाना नपाइने हुँदा चौंरी मर्न थालेको अर्का किसान दलु लामा बताउनुहुन्छ । विभिन्न रोगले पशुु मर्नुका साथै उत्पादन सस्तोमा किनेर महँगोमा बिक्री गर्ने व्यापारीका कारण पुस्तौंदेखि गर्दै आएको यो पेसाप्रति युवा पुस्तामा निराशा बढ्दै गएको लामाको भनाइ छ ।
वर्षको तीन महिना जाडो समयमा मात्र मानवबस्ती छेउछाउ पुग्ने उनीहरु अधिकांश समय हिमाली खर्कमा बिताउँछन् । सिन्धुपाल्चोकको लेकाली भेगका तामाङ र शेर्पा समुदायका नागरिकको मुख्य आम्दानीको स्रोत चौंरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी घिउ तथा भेडाको रौंबाट बन्ने राडीपाखीलगायतका सामग्री हुन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा चौरीपालन हुने गरेको छ । स्थानीय पालिकाको कृषि तथा पशु शाखाका अनुसार खर्कमा चौरी तथा भेडापालन गर्ने किसानको सङ्ख्या जिल्लामा एक सय ३१ छ । चौरी, याक र भेडाको संरक्षण गर्न सिन्धुपाल्चोकका पालिकाले बिमा कार्यक्रम ल्याएका छन् ।
वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानीको क्षेत्र बन्नसक्ने यो क्षेत्रलाई व्यावसायिक बनाउन प्रयत्न गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा बताए ।
पालिकाको प्रयासका बावजुद पनि सिन्धुपाल्चोकका लेकाली खर्कमा अहिले चौरी गोठ घट्दै गएको छ । अझै परम्परागतरुपमै भइरहेका पशुपालनलाई आधुनिक बनाउन सकिएको छैन । राज्य तहबाट पनि यो पेसालाई प्रोत्साहन नगरिएको हुँदा चाहेर पनि स्थानीयले यो पेसालाई परम्परागत भन्दामाथि लैजान सकेका छैनन् ।