
साफा अवार्डबाट सम्मानित हुने पहिलो नेपाली जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वित्तीय पारदर्शिता तथा संस्थागत सुशासनका क्षेत्रमा महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स–साफाद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । यस्तो अवार्ड पाउनेमा नेपाल लाइफ इन्स्योरेन्स नेपाल कै पहिलो जीवन बीमा कम्पनी हो ।
साफाद्वारा आयोजित प्रतिष्ठित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२५’ अन्तर्गत जीवन बीमा विधामा नेपाल लाइफले उक्त सम्मान प्राप्त गरेको हो । बंगलादेशको ढाकास्थित रेडिसन ब्लु वाटर गार्डेनमा २०८३ मंसिर १२ गते आयोजित पुरस्कार वितरण समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । सम्मान ग्रहण गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी समारोहमा सहभागी भएका थिए ।
यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट नेशनल बेस्ट प्रिजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड २०२५ अन्तर्गत ‘गोल्ड अवार्ड’ प्राप्त गरेको थियो । अहिले कम्पनीले आईक्यानको सिफारिस र वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो ।
साफाले दक्षिण एसियाली मुलुकका विभिन्न संस्थाको वार्षिक प्रतिवेदनमा वित्तीय सूचनाको गुणस्तर, विश्वसनीयता, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना लगायतका पक्षको मूल्याङ्कन गरी उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सम्मान नेपाल लाइफको मात्र नभई समग्र नेपाली जीवन बीमा क्षेत्रकै लागि गौरवको विषय भएको बताए । उनले भने, “पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत सुशासनप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताको प्रतिफलका रूपमा हामीले यस उपलब्धिलाई लिएका छौँ । यस सम्मानले हामीलाई थप जिम्मेवार, उत्तरदायी र उत्कृष्ट बन्न प्रेरित गरेको छ । यो हामी सबैको जीत हो । यस यात्रामा निरन्तर विश्वास र सहयोग प्रदान गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ”।
विश्वास र उत्कृष्टताको २५ वर्षे यात्रामा नेपाल लाइफले हासिल गरेको यस अन्तर्राष्ट्रिय उपलब्धिले कम्पनीको वित्तीय पारदर्शिता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । कम्पनीले आगामी दिनमा पनि वित्तीय पारदर्शिता, संस्थागत सुशासन, वित्तीय सुदृढता तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नेपालको जीवन बीमा क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।


