
नेपाल बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड सेवा
काठमाडौं । नेपाल बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ।
ग्राहकलाई आधुनिक, सहज तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले बैंक र फोनपेबीच सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार नेपाल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्।
मंसिर १० गते नेपाल बैंकको प्रधान कार्यालय न्यूरोड, काठमाडौंमा भएको सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दासले हस्ताक्षर गरेका छन्।
फोनपे भर्चुअल क्रेडिट कार्डमा सहज आवेदन, व्यापक भुक्तानी सुविधा, रियल टाइम ट्र्याकिङ, ४५ दिनसम्म ब्याजरहित अवधि तथा लचिलो भुक्तानी विकल्प उपलब्ध छन्। यस सेवाले ग्राहकलाई नगदरहित कारोबार सहज, सुरक्षित र प्रभावकारी रूपमा गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
बैंकका अनुसार नयाँ सेवाले डिजिटल बैंकिङको विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा ग्राहकलाई आधुनिक भुक्तानी प्रणालीमा जोड्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
नेपाल बैंकले देशभर २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकका करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भइरहेका छन्।
प्रविधिमैत्री, सरल र ग्राहकमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप बैंकले नवीनतम डिजिटल सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।


