
युनाइटेड अजोडको वित्तीय अवस्था : बीमाशुल्क आम्दानी ३४ करोड ६२ लाख, अन्य सूचक कस्ता ?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्म ५ करोड २९ लाख ८४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त घाटा देखिएको हो ।
गत वर्षको सोही अवधिमा कम्पनीको घाटा १५ करोड ११ लाख ९३ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीसमेत ऋणात्मक ८ रुपैयाँ ३ पैसा रहेको छ । कम्पनीको आम्दानीतर्फ भने केही सुधार देखिएको छ । समीक्षा अवधिमा खुद बीमाशुल्क आम्दानी ३४ करोड ६२ लाख ९९ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको २४ करोड ५५ लाख ५८ हजार रुपैयाँको तुलनामा ४१.०३ प्रतिशतले बढी हो ।
त्यस्तै, कुल आम्दानी ४९ करोड ४० लाख ५२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३६ करोड ३४ लाख ६१ हजार रुपैयाँ थियो। आम्दानी बढे पनि दाबी भुक्तानीको भार र सञ्चालन खर्चको दबाब कम्पनीका लागि चुनौती बनेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीले ३९ करोड ८२ लाख ९२ हजार रुपैयाँ बराबरको कुल बीमा दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो भुक्तानी ३३ करोड ६५ लाख ९८ हजार रुपैयाँ थियो।
अर्कोतर्फ, लगानी तथा कर्जाबाट हुने आम्दानी ४ करोड ३३ लाख १६ हजार रुपैयाँबाट घटेर ३ करोड ३४ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ। त्यस्तै, बीमा कोष ३ अर्ब ५९ करोड ६ लाख ६२ हजार रुपैयाँबाट घटेर ३ अर्ब ३७ करोड ७० लाख ८१ हजार रुपैयाँमा झरेको छ। कम्पनीको चुक्ता पुँजी भने २ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ३८ पैसा रहेको छ ।


