
अपर तामाकोशीको नाफामा गिरावट, अन्य सूचक कस्ता ?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको असोज मसान्तसम्ममा कम्पनीको यस्तो नाफा १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ३ अर्ब ९४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ थियो ।
यसअनुसार कम्पनीको विद्युत् बिक्री आम्दानी २.२७ प्रतिशतले बढेको छ । आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको सञ्चालन नाफा पनि ३.१८ प्रतिशतले बढेर २ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ७१ करोड ४७ लाख रुपैयाँ थियो । विद्युत् बिक्री आम्दानी र सञ्चालन नाफा बढे पनि कम्पनीको खुद नाफामा भने सामान्य गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासिकसम्ममा १ अर्ब ४ करोड ५९ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा कायम भएको छ । अघिल्लो त्रैमासमा यस्तो आम्दानी ७ रुपैयाँ ९१ पैसा थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा र तरलता अनुपात १.८४ रहेको छ । कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ । दीर्घकालीन ऋण ६६ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो वर्ष ६८ अर्ब ६१ करोड २३ लाख रुपैयाँ थियो ।


