
जलवायु वित्तसम्बन्धि उच्चस्तरीय कार्यक्रममा सहभागी भइ अर्थमन्त्री स्वदेश फिर्ता
काठमाडौं । तुर्कीएमा भैरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) मा करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।
उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्वोधन गरे । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठवन्धन’मा नेपाललाई १०५ औं (नयाँ) सदस्यका रुपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा (Fiscal Space for Resilience) छलफलका लागि पेश गरे।
विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने G-20 समूहको अध्यक्षता गर्नलागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिवद्धता प्राप्त भएको छ। त्यस्तै COP31 मा नेपालले उठाएका विषयमा सहयोग लिने हेतुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पाँचजना प्रभावशाली जलवायु दूतहरुको छलफल भयो: बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्र संघीय महासचिवका दुत सेल्विन हार्ट। हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका बारेमा अर्थमन्त्रीले छलफल गरेका छन् भने जेनेभास्थित विश्व मौसम-विज्ञान संगठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोष सम्बन्धि कार्यक्रमलाई विशेष सम्वोधन गरेका थिए ।
जलवायु र अर्थशास्त्रमा ख्याति कमाएका प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग समेत अर्थमन्त्रीली भेटघाट गरे। उनले न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्ता दिए । सन् २०२६ का लागि टाइम पत्रिकाले रोजेका जलवायु मुद्दामा अर्थमन्त्री लगायत विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरुको सम्मानमा आयोजित एक कार्यक्रममा पनि उनी सरिक भए ।


