
वेस्ट इन्डिजलाई हराउँदै भारत शृंखलामा अघि
काठमाडौं । भारतले वेस्ट इन्डिजलाई तेस्रो टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा १४ रनले हराउँदै ५ खेलको शृंखलामा २–१ को अग्रता बनाएको छ।
आइतबार इन्दोरमा २ सय २४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ९ रन मात्र बनाउन सक्यो। उसका लागि शिमरोन हेटमायरले ४३ र कामिल पुरनले ४२ रन बनाए पनि जितका लागि पर्याप्त भएन। भारतका बायाँहाते तीव्र गतिका बलर अर्शदीप सिंहले ४४ रन खर्चेर ३ विकेट लिए। उनले वेस्ट इन्डिजको रन गति रोक्न महत्त्वपूर्ण भूमिका खेले।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले १९.२ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रन बनाएको थियो। ओपनर अभिषेक शर्माले ३० बलमा ६९ रन जोड्दै भारतलाई बलियो योगफलसम्म पुर्याए। उनले आफ्नो इनिङ्समा ६ चौका र ५ छक्का प्रहार गरे।
इशान किशनले १८ बलमा ३७ रन बनाउँदा उपकप्तान तिलक वर्माले १६ बलमा २८ रन जोडे। त्यस्तै नितिश कुमार रेड्डीले १४ बलमा २१ र अक्षर पटेलले १४ बलमा २० रन बनाए। वेस्ट इन्डिजका रोस्टन चेजले ३८ रन खर्चेर तथा शामार स्प्रिङ्गरले ५० रन दिएर समान २ विकेट लिए।


