
नामिबियालाई हराउँदै अमेरिकाले जित्यो लिग–२ को उपाधि
काठमाडौं। अमेरिकाले नामिबियालाई चार विकेटले पराजित गर्दै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को उपाधि जितेको छ। डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा बुधबार भएको खेलमा अमेरिकाले नामिबियाले दिएको २९८ रनको लक्ष्य सात बल बाँकी छँदै पूरा गरेको हो।
अमेरिकाको जितमा कप्तान मोनांक पटेलले शतकीय पारी खेल्दै १०८ रन बनाए। उनको उत्कृष्ट प्रदर्शनसँगै अमेरिकाले २९८ रनको लक्ष्य ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। जितसँगै अमेरिकाले लिग–२ को अंकतालिकामा थप दुई अंक जोडेको छ। शीर्षस्थानमा रहेको अमेरिकाले २ खेल खेल्न बाँकी रहँदा ४७ अंक पुर्याएको छ। सबै खेल खेलेको स्कटल्यान्डको ४६ अंक छ भने चार खेल खेल्न बाँकी नेदरल्यान्डको ३८ अंक छ।
प्रतियोगितामा आठ टोली सहभागी रहेकामा अन्य टोलीका खेल बाँकी रहे पनि अमेरिकालाई अब कुनै टोलीले अंकमा भेट्न नसक्ने भएको छ। अमेरिकाले यसअघि नै आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गरिसकेको थियो। छनोट प्रतियोगितामार्फत उसले दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने सन् २०२७ को क्रिकेट विश्वकपमा स्थान बनाउने अवसर पाउनेछ।
यसअघि नामिबियाका लागि अनुभवी ओपनर माइकल भान लिङ्गेनले बलियो सुरुवात दिलाएका थिए। उनले लोरेन स्टेनक्याम्पसँग ३० रन र कप्तान गेर्हार्ड इरास्मससँग ७६ रनको साझेदारी गर्दै नामिबियालाई प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढाएका थिए।
नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९८ रन बनाएको थियो। त्यसपछि लक्ष्य पछ्याएको अमेरिकालाई मोनांक पटेलसँगै स्मित पटेलको ५० र शेहान जयसूर्याको ७४ रनले जिततर्फ अघि बढाएका थिए। अन्ततः अमेरिकाले चार विकेटको जित निकाल्दै लिग–२ को पहिलो उपाधि आफ्नो नाममा गरेको हो।


