
शाखा समायोजन गर्दा कर्मचारी हटाउन नपाइने, ९० दिनअघि सूचना दिनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन वा एकीकरण गर्दा कर्मचारी कटौती गर्न नपाउने व्यवस्था गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले शाखा समायोजनका क्रममा कर्मचारीको रोजगारी सुरक्षित गर्न नयाँ व्यवस्था लागू गरेको हो ।
संशोधित निर्देशनअनुसार शाखा समायोजन वा एकीकरण हुने वा भइसकेको कारण देखाएर सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन पाइने छैन । त्यस्ता कर्मचारीलाई नजिकको शाखा वा उनीहरूको प्राथमिकता तथा सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले शाखा समायोजनअघि ग्राहक तथा अन्य सरोकारवालालाई पर्याप्त जानकारी दिन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसअनुसार शाखा समायोजन गर्नुभन्दा कम्तीमा ९० दिनअघि राष्ट्रियस्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र सम्बन्धित शाखाको सूचनापाटीमार्फत सूचना प्रकाशित गर्नुपर्नेछ ।
शाखा समायोजनका कारण ग्राहकले आफ्नो कर्जा समयअगावै चुक्ता गर्न वा अन्य बैंकिङ सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारको अतिरिक्त शुल्क नलिई त्यस्तो सुविधा उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।
यस्तै, शाखा समायोजन गर्दा सम्बन्धित क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चित गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
समायोजन सम्पन्न भएको तीन कार्यदिनभित्र विवरण राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्ने तथा तोकिएको ढाँचाअनुसार बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा आवश्यक विवरण पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
राष्ट्र बैंकको यो व्यवस्थाले शाखा समायोजनका क्रममा कर्मचारीको रोजगारी संरक्षण गर्नुका साथै ग्राहकको हित र वित्तीय सेवामा पहुँच कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


