
बेल्जियममाथि फ्रान्सको पुनरागमन जित
काठमाडौं । युइएफए नेसन्स लिगमा फ्रान्सले अन्तिम १३ मिनेटमा चार गोल गर्दै बेल्जियममाथि ४–१ को सानदार पुनरागमन जित निकालेको छ। जितसँगै फ्रान्सका प्रशिक्षक जिनेदिन जिदानको अपराजित सुरुवात पनि कायमै रहेको छ। स्टेड डे फ्रान्समा बेल्जियमले ३५औं मिनेटमा डोडी लुकबाकियोको गोलमार्फत अग्रता लिएको थियो।
रोमियो लाभियाको करिब ६० यार्ड लामो उत्कृष्ट पासमा अघि बढेका लुकबाकियोले फ्रान्सका लागि डेब्यु गरिरहेका गोलरक्षक गिलाउम रेस्टेसलाई बिट गर्दै गोल गरेका हुन्। घरेलु टोलीले लगातार दबाब बनाए पनि बराबरी गोलका लागि ७७औं मिनेटसम्म कुर्नुपर्यो। डेजिरे डुएले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहारमा बेल्जियमका डेब्यु गोलरक्षक मार्टेन भान्डेभुर्ड्टलाई छक्याउँदै बराबरी गोल गरे।
बराबरीपछि फ्रान्सले आक्रमण थप तीव्र बनायो। बेन्चबाट मैदान प्रवेश गरेका माइकल ओलिसेको कटब्याकमा रायन चेरकीले गोल गर्दै ८१औं मिनेटमा फ्रान्सलाई २-१ को अग्रता दिलाए। त्यसपछि ओलिसेले खेलमा आफ्नो प्रभाव देखाए। उनले ८८औं मिनेटमा डुएकै पासमा गोल गर्दै फ्रान्सको अग्रता ३-१ बनाए।
इन्जुरी समयतर्फ पुनः डुए र ओलिसेबीच उत्कृष्ट समन्वय भयो। डुएकै सुन्दर पासमा ओलिसेले अर्को गोल थपेपछि फ्रान्सले ४–१ को फराकिलो जित सुनिश्चित गर्यो। ओलिसेले सन् २०२६ राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले यो वर्ष फ्रान्सका लागि १६ खेलमा १७ गोलमा योगदान गरेका छन्।
यो जितसँगै फ्रान्स ४ खेलबाट १० अंक जोड्दै समूह ए१ को शीर्ष स्थानमा छ। बेल्जियम भने ४ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ। समूहको अर्को खेलमा इटालीले घरेलु मैदानमा टर्कीलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।
इटालीका लागि जियानलुका स्कामाकाले सुरुआती गोल गरे। टर्कीका अराल सिम्सिरले बराबरी फर्काए पनि रिकार्डो कालाफियोरीले हेडमार्फत इटालीलाई पुनः अग्रता दिलाए। पियो एस्पोसिटोले तेस्रो गोल थप्दै इटालीको जित पक्का गरे।


