
उपत्यकाका कोरिडोर सडकमा उच्च सतर्कता, पार्किङ पूर्णतः निषेध
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका सबै नदी तटीय सडक (कोरिडोर) जोखिमयुक्त बनेका छन् । यससँगै ट्राफिक र जनपद प्रहरी टोलीले ती क्षेत्रको आवागमनमा उच्च सतर्कता अपनाएको छ ।
कोरिडोर सडकमा सबै प्रकारका सवारी साधन पार्किङ निषेध गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । सबै कोरिडोर सडकमा जल सतह क्रमशः मूल सडकको छेउछाउ पुगेका कारण सवारी साधनको आवागमन पनि क्रमशः नियन्त्रण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
उपत्यकाका बागमती, विष्णुमती, रुद्रमती-धोवीघाट, मनोहरा, हनुमन्ते र चोभार खण्डमा जोखिम बढेको हो । वर्षाको प्रवृत्ति विश्लेषण गर्दै सतर्कता अपनाइएको ट्राफिक प्रवक्ता सुवेदीले बताए ।


