
३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
कम्पनीले बिहीबार सूचना जारी गर्दै युरिया ४६–०–० खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो। कम्पनीका अनुसार बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्नेछन्।
बोलपत्रअनुसार खरिद गरिने मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर, वीरगन्ज र भैरहवास्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बिमा गर्ने जिम्मेवारी पनि आपूर्तिकर्ताकै हुनेछ।
कम्पनीले बोलपत्र खरिदका लागि ४ लाख रुपैयाँ शुल्क तोकेको छ। त्यस्तै, बोलपत्र जमानत २० हजार अमेरिकी डलर बराबरको हुनुपर्नेछ।
बोलपत्रसम्बन्धी पूर्वबोलपत्र बैठक अक्टोबर १६, २०२६ मा दिउँसो २ बजे कम्पनीको कुलेश्वरस्थित प्रधान कार्यालयमा आयोजना हुने जनाएको छ।
इच्छुक योग्य बोलपत्रदाताले अक्टोबर २६, २०२६ को दिउँसो १ बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ। पेस भएका बोलपत्र सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ।
बोलपत्र पेस गर्दा प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी गरी पेस गर्नुपर्नेछ। बोलपत्रसम्बन्धी थप जानकारी कम्पनीको वेबसाइट तथा प्रधान कार्यालयबाट लिन सकिने कम्पनीले जनाएको छ।


