
एलपी ग्यास उद्योग संघले भन्यो– ‘विपद्को समयमा ग्यास आपूर्ति सहज बनाउन सरकार गम्भीर बनोस्’

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले प्राकृतिक विपद्का समयमा एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन सरकारसँग आग्रह गरेको छ।
संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा एलपी ग्यास उद्योगीप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ।
संघका अनुसार एलपी ग्यास उद्योगहरूले विगत पाँच दशकदेखि विभिन्न विपद् तथा महामारीका समयमा समेत उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउँदै आएका छन्। तर, विपद्को समयमा ग्यास आपूर्ति तथा बिक्री वितरण सहज बनाउन सरकारको जिम्मेवार निकायबाटै आएको अभिव्यक्ति दुःखद र आपत्तिजनक रहेको संघको भनाइ छ।
संघले सिलिन्डरको मौज्दात, आयात तथा आपूर्ति व्यवस्थापनलगायत विषयमा वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताएको छ। पृथ्वी राजमार्गको अवरोधका कारण ग्यास बुलेट ढुवानी प्रभावित भएको तथा माग अचानक बढेको विषयलाई समेत वर्तमान अभावको विश्लेषण गर्दा ध्यान दिनुपर्ने संघले जनाएको छ।
कुनै उद्योगले कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने भन्दै संघले प्रमाणबिना उद्योगीलाई दोषी देखाउने र भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति आपत्तिजनक रहेको जनाएको छ।
संघले कठिन परिस्थितिमा एलपी ग्यासलाई अत्यावश्यक वस्तुका रूपमा सहज रूपमा उपलब्ध गराउन सरकार, सम्बन्धित निकाय, उपभोक्ता तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै सरकारको व्यावहारिक निर्देशन पालना गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।


