
भोटेकोशी बाढीपीडितका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्सले गर्यो १० लाख ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका परिवारका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको जनाएको छ।
कम्पनीले विपद्को समयमा सामाजिक उत्तरदायित्व र मानवीय ऐक्यबद्धता महत्वपूर्ण हुने उल्लेख गर्दै राहत तथा पुनर्स्थापनाको कठिन यात्रामा सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।
कम्पनीका महाप्रबन्धक जगतबहादुर खड्काले अन्य माध्यम तथा व्यक्तिगत रूपमा गरिने सहयोगसँगै कम्पनीमार्फत सरकारको दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दा राज्यको काममा थप टेवा पुग्ने बताए।
प्राकृतिक विपद्बाट भएको क्षति न्यूनीकरण तथा प्रभावितलाई राहत दिन राज्यसँगै निजी क्षेत्र र सामाजिक संस्थाहरूको साथ पनि महत्वपूर्ण हुने खड्काले बताए।
‘सामाजिक दायित्वलाई आत्मसात् गर्दै नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले राज्य संयन्त्रमार्फत समेत सहयोगी हात अघि बढाएको हो। हामीले आफ्नो तर्फबाट छुट्टै सहयोग पनि गरिरहेका छौँ,’ उनले भने।
कम्पनीका अनुसार प्राकृतिक विपद्को कठिन घडीमा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउनु सबैको साझा दायित्व हो। सिपिङ तथा एयर लजिस्टिक्स सेवामार्फत वस्तु तथा कार्गो ओसारपसारमा सहजीकरण गर्दै आएको नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्सले व्यावसायिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्वमा पनि आफ्नो भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
विपद्का बेला गरिएको सहयोग रकम आर्थिक रूपमा एउटा योगदान भए पनि त्यसले दिने सन्देश अझ महत्वपूर्ण हुने कम्पनीको भनाइ छ। कम्पनीले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको कठिन यात्रामा समाजका सबै पक्ष एकअर्काको साथमा उभिन आग्रह गरेको छ।
कम्पनीले बाढीबाट ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको पीडा कम गर्न सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्न आह्वान गरेको छ।
कम्पनीले निजी क्षेत्रबाट विपद्को समयमा गरिने सहयोगले तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका काममा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

