
माथिल्लो मैलुङ खोलाको ८४ लाख बढी कित्ता सेयरको लकइन अवधि कात्तिकमा सकिँदै

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीको स्वामित्वमा रहेको ८४ लाख ९० हजार ८०० कित्ता शेयरको लकइन अवधि आगामी कात्तिक २ गते सकिने भएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त सेयरको लकइन अवधि २०८३ कात्तिक २ गते सोमबार अर्थात् सन् २०२६ अक्टोबर १९ मा समाप्त हुने जानकारी दिएको हो । कम्पनीका अनुसार लकइनमा रहेको सेयरमध्ये संस्थापक सेयरधनीको ७० लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँड गरिएको १४ लाख ९० हजार ८०० कित्ता सेयर रहेका छन् ।
कम्पनीमा दर्ता रहेको कुल १ करोड कित्ता सेयरमध्ये यी सेयरको लकइन अवधि तोकिएको मितिमा समाप्त हुन लागेको हो । तर कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।

