
बाढीले क्षति पुर्याएको नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको सेवा सुचारु

काठमाडौं । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगेकोमा पहिलो चरणको नेटवर्क सुचारु कार्य सम्पन भएको छ। बाढीले रसुवागढी र बेत्रावतीमा १/१ वटा गरी २ वटा OLT, रसुवागढीमा १, बेत्रावतीमा १ र त्रिशूलीमा ३ वटा गरी ५ वटा FDC का साथै करिब १२८ किलोमिटर Aerial Optical Fiber Cable बगाएपछि त्यस क्षेत्रका कुल १,५४४ FTTH लाइन पूर्ण रूपमा प्रभावित भएका थिए ।
विपद्लगत्तै प्राविधिक जनशक्ति तथा स्रोत-साधन परिचालन गरी मर्मत कार्यलाई तीव्रता दिइएको र हालसम्म प्रभावितमध्ये १०९३ वटा लाइन पुनःसञ्चालनमा आएसँगै पहिलो चरणको सेवा पुनःसञ्चालन कार्य सम्पन भएको छ। बाँकी रहेका लाइनहरू सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकवर्गको मागका आधारमा क्रमैसँग सञ्चालनमा ल्याइनेछ ।
प्राकृतिक विपद्को यस विषम परिस्थितिमा सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउन कम्पनी प्रतिबद्ध छ । सेवा अवरुद्ध भएको अवधिमा सेवाग्राहीबाट प्राप्त धैर्यता र विश्वासका लागि कम्पनी हार्दिक आभार व्यक्त गर्दछ ।

