
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा झापा घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भइ हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरइपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भइ काठमाडौँ महानगरपालिका–३ बस्ने २७ वर्षीय साजन खनाल, दोलखा घर भइ भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ३४ वर्षीय पेमा लामा तथा ओखलढुङ्गा घर भइ काठमाडौँ महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ परेका मध्ये सुष्माले चेक रिपब्लिक पठाइदिने भन्दै रु पाँच लाख ३५ हजार, करिनाले लिथुआनिया पठाइदिने भन्दै रु दुई लाख ५० हजार, साजनले फिनल्याण्ड पठाइदिने भन्दै रु १२ लाख, पेमाले रोमानिया पठाइदिने भन्दै रु एक लाख र तोमकुमारीले माल्टा पठाइदिने भन्दै रु एक लाख ३५ हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीले सुष्मालाई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१०, करिना र साजनलाई काठमाडौँ महानगरपालिका–३ तथा पेमालाई काठमाडौँ महानगरपालिका–१२ र तोमकुमारीलाई काठमाडौँ महानगरपालिका–१५ बाट पक्राउ गरिएको जनाएको छ। उनीहरूलाई आज आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए।

