
कान्तिपुर र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार कान्तिपुर सेभिङका ३३४ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन्। समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिएको समितिले जनाएको छ।
समितिले साउन १ देखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरेको जनाएको छ।
पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको समितिको भनाइ छ। आगामी दिनमा बचत रकमको आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।
समस्याग्रस्त सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया कानुनी व्यवस्थाअनुसार निरन्तर अघि बढाइएको समितिले जनाएको छ।

