
उद्योगीसँग अर्थमन्त्रीले भने- उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारले गर्नेछ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगीहरूसँग सम्पत्तिको सुरक्षा सरकारले गर्ने बताएका छन् । मङ्गलवार उद्योगीहरूसँग छलफल गर्दै निजी क्षेत्रले गरेको लगानी पूर्ण रूपमा सुरक्षित रहने प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा अर्थमन्त्रीले भने, ‘निजी क्षेत्रले गरेको लगानी पूर्ण रूपमा सुरक्षित रहनेछ, त्यसले उचित प्रतिफल प्राप्त गर्नेछ, र पुनः लगानी गर्न सक्ने अनुकूल वातावरण निर्माण हुनेछ। उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहनेछ, किनकि निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो भन्नेमा हामी पूर्ण रूपमा स्पष्ट छौँ ।’
अर्थमन्त्रीले उत्पादन, लगानी र उद्यमशीलताबाट स्वाभिमानी र समृद्ध नेपालको निर्माण गर्ने साझा लक्ष्य रहेको बताए । उनले अगाडी भने, ‘सरकार सुधारको गति बढाउनेछ, अवरोधहरू पन्छाउनेछ र निजी क्षेत्रका साथ निरन्तर उभिनेछ। आत्मविश्वासका साथ लगानी गर्न, उत्पादन बढाउन, उद्योग विस्तार गर्न, नयाँ उद्यम सुरु गर्न र रोजगारी सिर्जना गर्न म पुनः आह्वान गर्दछु ।’ बजेट निर्माणको क्रममा उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्र, लगानीकर्ता, युवा उद्यमी र विभिन्न चेम्बरका प्रतिनिधिहरूसँग अर्थमन्त्रीले संवाद गरेका थिए । उनीहरूले दिएको सुझावहरूकै आधारमा हामीले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको अर्थमन्त्रीले दाबी गरे ।
अनावश्यक र पुराना कानुनहरू खारेज गर्ने, लगानीको वातावरण सुधार्ने, कर प्रणालीलाई सरल र पारदर्शी बनाउने, व्यवसाय गर्ने सहजता बढाउने, पूँजी बजार तथा वैकल्पिक वित्तीय साधनको विस्तार गर्ने, श्रम बजारलाई व्यवस्थित गर्ने र डिजिटल सेवामार्फत पारदर्शी प्रशासन निर्माण गर्ने स्पष्ट रोडम्याप तय गरिएको अर्थमन्त्रीले जानकारी दिए । यसै वर्ष अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका ४२ वटा ऐनहरू खारेज वा संशोधनको प्रक्रियामा रहेको समेत उनले बताए ।
‘बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अघि बढिरहेको छ । आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध तालिका अनुसार कार्यान्वयन गरिनेछ । पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पूँजी बजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेका छन्’, छलफलमा अर्थमन्त्री वाग्लेले भने ।

