
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, (नेपाल)’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् ।
बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड प्राप्त भएको जनाएको छ । यसले बैंकिङ सेवा र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा दिने बैंकको भनाइ छ ।
बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले उक्त अवार्ड पाउँदा निकै खुसी लागेको बताए । “बैंक फेरि एकपटक प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ, हामीलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु”, उनले भने ।
यस अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी थिए ।
आइसिसी भारतको उद्योग र वाणिज्य क्षेत्रको अग्रणी संस्था हो । भारतका प्रमुख व्यावसायिक समूहहरू आबद्ध रहेको यस संस्थाले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक गतिविधि विस्तार गर्ने उद्योग तथा व्यवसायको प्रतिनिधित्व गर्दै आएको छ ।
नबिल बैंकले हालसालै तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गरेको थियो । बैंकले युरोमनी अवाड्र्स फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि प्राप्त गरेको थियो । बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका लागि उक्त अवार्डबाट सम्मानित गरिएको थियो ।
नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । यस बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६४ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हालसालै ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सशक्त रूपमा अगाडि बढाएको छ ।

