
हिमालयन पावर पार्टनरको साधारणसभा असार ३२ गते

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको साधारणसभा असार ३२ गतेका लागि आह्वान गरिएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले असार ३२ गते बिहीबार काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि १३ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।
लाभांश वितरण नगर्ने निर्णय गरेको यस कम्पनीको साधारणसभाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको १ लाख ४३ हजार रुपैयाँ अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह सम्बन्धी विषयमा छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, सञ्चालक समितिको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १८ गते बिहीबार सेयर दाखिल खारेज (बूक क्लोज) गर्ने निर्णय गरेको छ । बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा असार १७ गतेसम्म कायम सेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन सक्नेछन् ।

