
सेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो, अब कति तिर्नु पर्छ ?



काठमाडौं । सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार सेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित एक वर्ष भन्दा बढी समय राखेर सेयर बेच्दा ७.५ प्रतिशत र एक वर्षभन्दा कम अवधिभित्र सेयर बेच्दा १० प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था ल्याएको हो । यसअघि आयकर ऐनमा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी स्वामित्व रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिनभन्दा कम अवधिको स्वामित्वमा रहेको हितको लाभ रकमको ७.५ प्रतिशतका दरले कर लाग्ने व्यवस्था थियो ।
त्यस्तै, निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व ५ वर्ष वा सो भन्दा बढी भएको छ भने ५ प्रतिशत र ५ वर्ष भन्दा कम भएकोमा ७.५ प्रतिशत लाभकर लाग्ने व्यवस्थालाई पनि आर्थिक विधेयकमार्फत संशोधन गरिएको छ । अब आफूले किनेको ५ वर्षभन्दा बढी भइसकेको घरजग्गामा ७.५ प्रतिशत र ५ वर्षभन्दा कम अवधिको घरजग्गामा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । सरकारले विनियोजन विधेयकमार्फत विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घरजग्गा रजिस्ट्रेसनका लागि तोकिएको सरकारी मूल्याङ्कन सम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरिएको जनाएको छ ।


