
बैशाख ३० गतेदेखि एलएस होराइजन १२ निष्काशन गर्दै लक्ष्मी सनराइज क्यापिटल



काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले बैशाख ३० गतेदेखि सामूहिक लगानी कोष एलएस होराइजन १२ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो । निष्काशन गरिने कुल १२ करोड इकाईमध्ये बिज पूँजीबापत १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
फण्डको इकाईमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ १३ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।


