लगानीको दायरा संकुचन हुँदा बीमकहरुलाई सकस,बीमा कम्पनीहरुमा पैसा फालाफाल
काठमाडौं । हाल बीमा कम्पनीहरुले लगानीको उपयुक्त स्थान नपाउँदा उनीहरुलाई बीमितबाट संकलित बीमाशुल्क (प्रिमियम) को जगेर्ना गर्ने सहि स्थान पहिचान गर्न मुस्किल भएको पाइएको छ । उनीहरुले बैंकहरुको मुद्धती निक्षेप (एफडी) लाई नै चाहेर वा नचाहेर दुवै अवस्थामा पैसा राख्ने एक मात्र विकल्प अपनाउनु पर्ने अवस्था छ । अहिले त्यस्तो निक्षेपमा समेत बैंकहरुले लिमिटेसन तोके जसरी कम्पनीको छनोट गर्न थालेसँगै बीमकहरु थप मारमा परेका हुन् ।
हुन त यो समस्या बीमा क्षेत्रमा अहिले मात्रै देखिएको होइन । तर, समस्या जहिलेसुकैको भए पनि यो गम्भिर विषय रहेको र पछिल्लो समय यसमा जटिलता थपिदै गएको देखिन्छ । बेला–बेलामा बीमा प्राधिकरणले लगानीको दायरालाई फराकिलो बनाउनु पर्ने र बीमा क्षेत्रको लगानीलाई देशको अन्य पूर्वाधारसँग जोड्नु पर्ने सकारात्मक धारणा समेत व्यक्त गर्ने गरेको छ । तर, त्यस्तो संवेदनशील विषयमा बीमा प्राधिकरणले सार्वजनिक मञ्च र सामान्य छलफलमा मात्रै सिमित राख्दा यता बीमा कम्पनीहरुमा समस्या ज्यूँका त्यूँ रहेको देखिन्छ ।
करोडौं करोड फालाफाल, टिप्दीने कस्ले ?
बीमा कम्पनीहरुले दैनिक करोडौं बीमाशुल्क बापतको रकम बीमितहरुबाट लिन्छन् । त्यसमा पनि ठूलो पूँजी भएर र पुराना बीमा कम्पनीहरुले त नविकरणबाट नै धेरै शुल्क दैनिक हात पार्छन्। उनीहरुले त्यसरी संकलन गरेको पैसालाई पटक–पटक अन्य क्षेत्रमा लगानी गर्न पाउनु पर्छ पनि भन्दै आएका छन् । बीमा कम्पनीहरुले भन्छन् भन्दैनन् भन्दा पनि सबैभन्दा फितलो यहाँको नीति नै रहेको स्वयम बीमकहरु स्वीकार गर्छन् ।
ल्यापटप किन्न पनि प्राधिकरणमा सोध्नु पर्ने बाध्यता हट्यो
अधिकांश क्षेत्रले आम्दानी स्वरुप पाउँने रकमका लागि विभिन्न तह र तप्काका नीति, नियमहरु पार गर्छन् । त्यस्तो कुरा बीमा क्षेत्रमा पनि लागु हुन्छ । तर, अन्य कतिपय क्षेत्रले संकलन गरेको पैसाले ठूला पूर्वाधार निर्माण गरिसकेको बेलामा पनि यता बीमा क्षेत्रमा पनि गज्जबको किस्सा सुन्न पाइन्छ । केही बीमकले यही आईतबार मात्रै भनेको कुरालाई आधार बनाउँदा केही वर्ष अघिसम्म बीमा कम्पनीहरुले एउटा टेबल, फर्निचर या भनौ ल्यापटपदेखि गाडी किन्नको लागि पनि बीमा प्राधिकरणको स्वीकृती लिनु पर्ने बाध्यता थियो । भलै अहिले भने त्यस्तो संस्कृतीमा निकैहदसम्म कमी आएको बीमकहरु नै स्वीकार गर्छन् । केही वर्ष अघि बीमा प्राधिकरणमा काम गरेका उच्च कर्मचारीहरु अहिले पनि त्यही छन् । तर, बीमा कम्पनीहरुलाई बैंककले चर्को व्याजलिने बेलामा ग्राहक खोज्दै दैलोमा आउँने र व्याज घटेको बेलामा बीमा कम्पनीको पैसा फालाफाल हुने परिपाटीमा ती कतिपय जिम्मेवार कर्मचारीहरुले नयाँ योजना नल्याएको, ल्याउँन नसकेको भए पनि लगानीको दायरा खुला गर्नु नै अबको उत्तम विकल्प हुने बीमकहरु बताउँछन् ।
जोखिमको पैसा अर्को जोखिममा हाल्न निकै सोच्नु पर्ने
यता बीमा क्षेत्रका कतिपय अनुभवीहरुले बीमा कम्पनीहरुले जनताबाट लिएको पैसा नाफा नभई भोली दुर्घटना, भवितव्यमा बुझाउँनु पर्ने भएकाले यसलाई अन्य क्षेत्रको जस्तो सिधैँ नाफाको हिसाबले लगानी गर्न सहज नभएको दाबी गरेका छन् । थोरै पैसा उठाएर धेरै रकमको दायित्वभार बोक्ने भएकाले नै बीमा कम्पनीहरु दोहोरो मारमा परेको देखिन्छ । एक त यसको क्षेत्रगत लगानी बिस्तार गर्न न त उनीहरु खुलेर नै बोल्न सक्छन्, न त बैंकको एफडी बाहेक अन्त निर्धक्कसँग पैसा राख्न सक्छन् भने न त नियमनकारी निकायले नै उनीहरुलाई नयाँ बाटो दिने छाँटकाँट छ । यस्तो अवस्थामा बीमा कम्पनीहरुले बीमितबाट उठाएको पैसालाई उचित व्यवस्थापन गर्न सकेमा त्यसबाट भोलिको दिनमा बीमितहरुले पाउँने प्रतिफलहरु बढ्वा हुने भन्दै बीमकहरुले आगामी दिनमा बीमा कम्पनीहरुको लगानीको दायरा बिस्तार सम्बन्धि नयाँ, विश्वालिसो, भरपर्दो र दीर्घकालिनबाटो खोजी रहेको तथ्य फेला परेको हो ।
हाल बीमा प्राधिकरणबाट प्रदान गरिएको लगानीको दायरा औपचारिकतामा मात्रै सिमित हुँदा बीमकहरुले अन्य क्षेत्रमा देखिएको संकुचन लगायतमा मारमा समेत आफूहरु मुछिनु परेको र यो दुःखदायी रहेको बताएका हुन् । उनीहरुले बीमा कम्पनीहरुले आफ्नो पैसा आफैले रोजेका उपयुक्त ठाउँमा लगानी गर्न पाउँनु पर्ने विषयमा बहस तथा नयाँ बाटो खोजेको अवस्था छ ।