

गण्डकी प्रदेशद्वारा आर्थिक वर्ष २०८१र८२ मा २४५ किलोमिटर सडक पक्की




म्याग्दी । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ । आर्थिक वर्ष २०८१/८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले प्रदेश सरकारले गत वर्ष सम्पन्न भएका ११ वटा सहित ११२ वटा सडक पुल निर्माण गरेको जानकारी दिए । उनका अनुसार गत वर्षको ६६ दशमलब ७३ किलोमिटर सहित हालसम्म ७६२ दशमलब ७३ किलोमिटर सडक ग्राभेल भएको छ ।
गत वर्षको पाँच वटासहित ८७ वटा झोलुङ्गे पुल र ३९ वटासहित ६७ वटा भवन निर्माण तथा मर्मत भएको बानियाले बताए । गत आर्थिक वर्षमा १२ अर्ब ७१ करोड आठ लाख ६९ हजार रुपैयाँ बजेट बिनियोजन गरेको मन्त्रालयले ७६ दशमलब ५२ प्रतिशत अथवा नौ अर्ब ७२ करोड ६७ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयले पछिल्लो पाँच वर्षयताकै धेरै बजेट खर्च गरेको बताए । यस वर्ष पुराना योजनालाई पूर्णता दिन बहुवर्षीय योजनालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको उनले बताए ।
मन्त्रालयले गत वर्ष चार अर्ब २७ करोड ६५ लाख ५६ हजार रुपैयाँ लागत अनुमान गरिएको ४७ सडक, १३ सडक पुल, १३ झोलुङ्गे पुल र एक वटा भवन निर्माणका लागि गत वर्ष बहुवर्षीय ठेक्का लगाएको छ । आर्थिक वर्ष २०८१/८२ मा ६३ वटा बहुवर्षीय योजना सम्पन्न भएका छन् ।
हाल २७१ बहुवर्षीय योजना निर्माणाधिन छन् । निर्माणाधिनमध्य १८६ प्रदेश सडक, चार सङ्घीय सडक, डिजाइन एण्ड बिल्ड माध्यमबाट निर्माण गर्नेगरी ठेक्का लागेका सात र तीनवटा सङ्घीयसहित ६६ वटा सडक पुल, १२ वटा झोलुङ्गे पुल र तीनवटा भवन छन् ।
मन्त्रालयले सञ्चालन गरेका २० योजना समस्याग्रस्त छन् । बहुवर्षीय योजनामा १० अर्ब १५ करोड ८१ लख ७४ हजार दायित्व रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा चार अर्ब ७७ करोड ८३ लाख ३४ हजार रुपैयाँ बिनियोजन भएको छ ।
सालबसाली योजनाको ठेक्का लगाउँदा बचत भएको रकम बहुवर्षीय योजनामा आन्तरिक रकमान्तर गरेर आर्थिक स्रोतको ब्यवस्थापन गरिएको मन्त्रालयका सचिव कमलबहादुर अधिकारीले बताउनुभयो । गत वर्ष सालबसाली योजनाको ठेक्काबाट बचेको एक अर्ब ९४ करोड एक लाख ३१ हजार रुपैयाँ बहुवर्षीय योजनामा रकमान्तर गरिएको थियो ।