

कृष्णपुर नगरपालिका र काठमाडौं विश्वविद्यालयबीच समझदारी




कञ्चनपुर । यहाँको कृष्णपुर नगरपालिका र काठमाडौ विश्वविद्यालय मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र धुलिखेलबीच मानसिक स्वास्थ्यसम्बन्धी बिरामीको उपचार र परामर्श गर्न पाँच वर्षका लागि आज सम्झौता भएको छ ।
नगरप्रमुख हेमराज ओझा र विश्वविद्यालय स्कुल अफ मेडिसिनका एसोसिएट डीन डा दीपक कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कृष्णपुर स्वास्थ्य चौकीमा मेडिकल अफिसरको सहयोगमा विश्वविद्यालयका विशेषज्ञ चिकित्सकसँग दृश्यात्मक प्रविधिमार्फत प्रत्यक्ष परामर्श पाउने व्यवस्था मिलाइएको छ ।
नगरप्रमुख ओझाका अनुसार यो सेवा हरेक शुक्रबार दिउँसो २ः०० देखि ४ः०० बजेसम्म सञ्चालन हुनेछ । मानसिक स्वास्थ्य समस्यालाई टेलिमेडिसिनमार्फत प्रभावकारी ढङ्गले उपचार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
‘विश्वविद्यालयको टोलीले हरेक तीन महिनामा कृष्णपुरमै पुगेर बिरामीको प्रत्यक्ष स्वास्थ्य परीक्षण गर्नेछन्”, उनले भने, नगरपालिकाले मानसिक स्वास्थ्य समस्याका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने छ, नगरपालिकाभित्रका मानसिक समस्या भएका बिरामीलाई यस कार्यक्रमले सघाउ पुर्याउने विश्वास लिएका छौँ ।’
डा कुँवरका अनुसार सम्झौताले आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य सचेतना, गुणस्तरीय उपचारमा पहुँच विस्तार, डिजिटल माध्यमबाट दिगो सेवा सुनिश्चित गर्ने लक्ष्य लिएको छ । आवश्यकताका आधारमा प्रत्यक्ष रेफरल सेवा, आकस्मिक अवस्थामा टेलिकाउन्सिलिङ, मनोचिकित्सकको परामर्श तथा मनोसामाजिक सेवा पनि उपलब्ध हुने जनाइएको छ ।
नगरपालिकाले टेलिमेडिसिन सेवा सञ्चालनका लागि आवश्यक डिजिटल पूर्वाधार, प्राविधिक तथा प्रशासनिक सहयोग गर्ने जनाएको छ । मानसिक स्वास्थ्यसम्बन्धी उपचारका लागि विश्वविद्यालय र नगरपालिकाबीच देशमै पहिलो सम्झौता भएको बताइएको छ ।