
एरिका गुरुङ तमु धीको सद्भावना दूत



काठमाडौं। नेपाली राष्ट्रिय कराते टोलीकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई तमु धी एसोसिएसन युकेले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा सोमबार आयोजित पत्रकार सम्मेलनमा एरिकालाई अप्रिलदेखि लागू हुने एक वर्षका लागि सद्भावना दूत नियुक्त गरिएको जानकारी दिइयो ।
तमु धी एसोसिएसन युकेका अध्यक्ष जुमकाजी गुरुङ र उपाध्यक्ष कमल गुरुङका साथै एरिका गुरुङ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विश्व नम्बर एक बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले एरिकालाई तमु धीले सहयोग गर्ने भएको हो । करातेकी अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङको पहलमा एरिका र तमु धी एसोसिएसन युकेबीच सहयोगका लागि सहकार्य भएको बताइएको छ ।
सम्झौताअनुरूप विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते महासंघ (एकेएफ) का आधारिक प्रतियोगिता खेल्न तमु धी एसोसिएसन युकेले टिकट, आवश्यक खेल सामग्री, दुई जोडी ट्य्राकसुट र हरेक प्रतियोगिताका लागि पाँच सय अमेरिकी डलर उपलब्ध गराउने भएको छ । एरिकाले उपलब्ध गारएको पोशाकमा तमु धीको लोगो राख्नु पर्ने छ ।
नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले एसियन गेम्स र दक्षिण एसियाली खेलकुदमा राज्यको लगानी हुने भएकाले त्यसमा सहयोग नलिने स्पष्ट पारे ।
साथै, डब्लुकेएफ र एकेएफअन्तर्गतका प्रमुख प्रतियोगिताहरूमा उनको सहभागिता सुनिश्चित गरिनेछ । एरिकाले सन् २०२६ र ०२७ मा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू कराते प्रिमियर लिग, एसियन च्याम्पियनसिप, विश्व सितोरियो कराते च्याम्पियनसिप तथा अन्य खुला प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।
कार्यक्रममा तमु धी एसोसिएसन युकेका उपाध्यक्ष कमल गुरुङले संस्थाले विगतदेखि नै देशको खेलकुद, शिक्षा तथा प्राकृतिक विपद्का बेला सहयोग गर्दै आएको उल्लेख गर्दै विश्वस्तरमा सफलता दिलाउन सक्ने प्रतिभाशाली खेलाडीलाई सहयोग गर्न आफ्नो संस्था सदैव अगाडि रहेको बताए । उनले एरिका गुरुङजस्ता सक्षम खेलाडीलाई साथ दिन पाउनु संस्थाका लागि गर्वको विषय भएको धारणा व्यक्त गरे ।
सद्भावना दूत नियुक्त भएपछि एरिकाले विश्व कराते महासंघ (डब्लुकेएफ) वरीयतामा शीर्ष स्थानमा पुग्ने आफ्नो लक्ष्य रहेको बताइन् । तमु धी यूकेको साथ र सहयोगले आफूलाई थप प्रेरणा मिलेको उल्लेख गर्दै उनले आगामी प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा ल्याउन प्रयासरत रहने बताइन् । महासंघका अध्यक्ष दावा गुरुङले यस किसिमको सहयोगले अन्य खेलाडीलाई पनि सहयोग मिल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका दौरान आत्मबल मिल्ने विश्वास व्यक्त गरे ।

