
सिटिजन्स सुपर ५० को इकाईमा मंसिर २ देखि आवेदन दिन पाइने
काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्री आगामी मंसिर २ गतेदेखि खुला हुने भएको छ । बन्दमुखी प्रकृतिको उक्त योजनामार्फत सर्वसाधारणबाट ८५ करोड रुपैयाँ बराबरको लगानी संकलन गरिनेछ ।
योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई निष्कासन गर्न लागिएको हो । कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । यसअनुसार न्यूनतम १ हजार रुपैयाँ लगानी गरेर योजनामा सहभागी हुन सकिनेछ ।
इकाई खरिदका लागि आवेदन दिने समय मंसिर ७ गतेसम्म तोकिएको छ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा बिक्री अवधि मंसिर १६ गतेसम्म लम्बिनेछ । ‘सिटिजन्स सुपर ५०’ को योजना व्यवस्थापक तथा डिपोजिटरीको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले सम्हाल्नेछ ।


