अनधिकृत आयातले स्वदेशी चिनी बिक्री नहुँदा ऊखु किसानलाई भुक्तानी दिन समस्या
काठमाडौं । चिनीको अनधिकृत रुपमा आयात आयात हुँदा स्वदेशी चिनी बिक्री हुन छाडेको व्यवसायीहरुले बताएका छन् । आज नेपाल चिनी उद्योग संघले पत्रकार सम्मेलन गर्दै भारतबाट चिनी अत्यतधिक रुपमा चोरी पैठारी भएर आँउँदा नेपाली चिनी बिक्री नभएको बताएका हुन् ।
व्यवसायीहरुले चिनीको बिक्री नुहँदा त्यसको असर किसानलाई भुक्तानी गर्नु पर्ने ऊखुको रकम भुक्तानीमा परेको बताएका छन् । संस्थागत रुपमा चिनी प्रयोग गर्ने उद्योगहरु बाहेक खुद्रा पसमा नेपाली चिनी बिक्री हुन छाडेको संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए ।
चिनी बिक्री नभए ऊखु किसानलाई भुक्तानी दिन नसक्ने अवस्था आउने संभावना बढेर गएको उनको भनाइ थियो । चिनीको व्यापक चोरी पैठारी हुँदा सरकारलेसमेत राजस्व गुमाएको अग्रवालले बताए । चोर बाटो हुँदै भन्सार छलेर भारतबाट आयात हुने चिनीको मूल्य किलोमा १० देखि १२ रुपैयाँ सस्तो पर्ने उनले सुनाए । भारतमा सरकारले ऊखु किसानलाई ठूलो रकम अनुदान दिएकाले त्यहाँ चिनीको मूल्य सस्तो हुने गरेको र चोरी पैठारीले झनै सस्तो बनाएको उनको भनाइ छ ।
सरकारले चिनी आयातमा ३० प्रतिशत भन्सार दर तोकेको छ । संघका अनुसार, नेपालमा वार्षिक चिनीको माग २ लाख ५० हजार टन रहेको छ । यस्तै नेपाली १३ उद्योगहरुबाट २ लाख २० हजार टन उत्पादन भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा अनुदानका कारण सस्तोमा चिनी आयात हुँदा स्वदेशी चिनी बिक्री नभइ मौज्दात रहँदा किसानलाई ऊखुको रकम भुक्तानीमा समस्या भएको अध्यक्ष अग्रवालले जानकारी गराएका छन् । यो वर्ष पनि यस्तै अवस्था आउन लागेको उनको भनाइ छ ।
अहिले ६० प्रतिशत उद्योगहरुले ऊखु क्रसिङ सुरु गरेको र बाँकी ४० प्रतिशत उद्योग केही दिनभित्र सञ्चालन हुने अवस्थामा रहेको उनले जानकारी दिए । चिनी बिक्री नभएको अवस्थामा क्रसिङ सुरु भएकाले चिनीको मौज्दात अझै बढ्ने संघले जानकारी दिएको छ । चिनी मिल वर्षमा औसत १ सय दिन मात्र सञ्चालन हुने गरेका छन् । १ सय किलो ऊखु क्रसिङ गर्दा औसत ९ किलो चिनी मात्र उत्पादन हुने गरेको छ ।
मुलुकमा अहिले १३ चिनी उद्योग सञ्चालनमा रहेका छन् । गत वर्ष उद्योगहरुले २ करोड ३८ हजार ७ सय ५५ क्विन्टल ऊखु क्रसिङ गरेर १ लाख ७८ हजार ७ सय १७ क्विन्टल चिनी उत्पादन भएको संघले जनाएको छ ।