सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छन् : अध्यक्ष सिंह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा भएको बृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको बताएका छन् । यसैपनि पछिल्लो समय सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन सकेको छैन । त्यो अवस्थामा सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरु थप अन्यायमा परेको उनको भनाइ छ ।
शनिबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भुमिका’ बिषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।
सिमेन्टको मूल्य बृद्धिको बिषयमा सरकारले तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘छोटो समयमै सिमेन्टको मूल्य बोरामै २०० रुपैयाँले बढेको छ । यसले निर्माण व्यवसायीहरु अन्यायमा परेका छन्,’ उनले भने, ‘यसमा सरकारको ध्यान जान आवश्यक छ ।’
यस्तै, उनले निर्माण व्यवसायीको बाँकी भुक्तानी तत्काल निकासा हुनुपर्ने उनले बताए । यसमा अर्थ मन्त्रालयले बिशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । यसैगरि निर्माण व्यवसायीले तिर्नुपर्ने ऋणको सावाँ र व्याज तिर्ने अवधी पनि थप गर्नुपर्ने उनले बताए । ‘राष्ट्र बैंकले ऋणको साँवा र व्याज तिर्ने अवधी मंसिर मसान्तसम्म थप गरेको थियो । तर, अहिलेसम्म हामीले भुक्तानी पाउन सकेको छैनौं । त्यो अवस्थामा मंसिर भित्र ऋण तिर्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले भुक्तानी तत्काल गर्ने संकेत गरेको छैन । राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समिक्षामा यस बिषयमा कुनै उल्लेख गरेको छैन । त्यो अवस्थामा मंसिर भित्र हामीले ऋण तिर्नुपर्ने दवाव छ । यसमा सरकारको ध्यान दिनुपर्छ ।’
मंसिर भित्रै ऋण तिर्न नसकेमा निर्माण व्यवसायीहरु कालोसुचीमा पर्नेछ । त्यसपछि निर्माण व्यवसायीले काम गर्न नसक्ने र समग्र निर्माण कार्य प्रभावित हुने उनले बताए ।