
सुपर लग्जरी फिचरका साथ दीपलको ई-०७ नेपाली सडकमा



काठमाडौँ । नेपाली अटो मोबाइल क्षेत्रमा अत्याधुनिक प्रविधि र विलासिताको नयाँ बेन्चमार्क स्थापित गर्दै एमएडब्लु वृद्धि ग्रुपले ‘दीपल ई–०७ ट्रान्सफर्मर एक्स’ को औपचारिक बिक्री वितरण सुरु गरेको छ।
गत बुधवार एमएडब्लु वृद्धि ग्रुपले दीपल ई–०७ ट्रान्सफर्मर एक्स सार्वजनिक गरेको हो । गत वर्ष चर्चामा रहेको ई–०७ मोडलको परिष्कृत र नयाँ संस्करणका रूपमा आएको यस गाडीले नेपाली सडकमा पहिलो पटक बहु आयामिक स्वरूप परिवर्तन गर्न सक्ने प्रविधि भित्र्याएको हो।
यो गाडीको सबैभन्दा ठुलो विशेषता नै यसको ‘ट्रान्सफर्मर’ क्षमता हो, जसले केवल एउटा बटन थिचेकै भरमा विलासी एसयूभीलाई शक्तिशाली पिक अप ट्रकमा परिणत गरिदिन्छ। यसरी स्वरूप परिवर्तन हुँदा पछाडिको भाग खुला भई १६०० लिटरको विशाल कार्गो स्पेस र ५३१ केजीसम्मको भार वहन क्षमता उपलब्ध हुन्छ, जसले साहसिक यात्रा र व्यावसायिक प्रयोजन दुवैलाई सहज बनाउँछ।
प्रविधिका हिसाबले यो गाडी निकै उन्नत रहेको छ। यसमा जडान गरिएको १९० किलोवाटको शक्तिशाली रियर ह्वील ड्राइभ मोटरले ३६५ न्युटन मिटरको टर्क उत्पन्न गर्छ, जसले उपत्यकाको ट्राफिकदेखि पहाडी उकालोसम्म उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्छ।
यसमा नेपालकै सबैभन्दा आधुनिक ८९.९८ किलोवाट आवरको ‘गोल्डेन शिल्ड २.०’ ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा ५६६ किलोमिटरको दूरी तय गर्ने डब्लूएलटीपी प्रमाणित रेन्ज प्रदान गर्छ। द्रुत चार्जको सुविधाले गर्दा केवल १२ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म ब्याट्री भर्न सकिन्छ भने ढुक्कले सुरक्षित भएर लामो यात्रा गर्न सकिन्छ।
यस गाडीको भित्री बनावट र सुविधाले ‘सुपर लग्जरी’ अनुभव दिलाउँछ। गाडीभित्र २८.८६ इन्चको विशाल हेड अप डिस्प्ले र १५.४ इन्चको सनफ्लो टच स्क्रिन जडान गरिएको छ, जसले चालकलाई प्रविधिसँग जोडिइराख्न मद्दत गर्छ।
नाप्पा लेदरबाट निर्मित यसका चार वटै सिटहरूमा मसाज, हिटिङ र भेन्टिलेसन जस्ता प्रिमियम सुविधाहरू छन्। विशेष गरी अगाडिको सिटमा रहेको ‘जिरो ग्राभिटी मोड’ ले यात्रुलाई थकानमुक्त यात्राको अनुभूति गराउँछ। पछाडि बस्ने यात्रुहरूका लागि पनि छुट्टै टच स्क्रिन दिइएको छ, जसबाट एसी, सनसेड र सिटको स्थिति आफैँ नियन्त्रण गर्न सकिन्छ।
सुरक्षाका दृष्टिकोणले दीपल ई–०७ मा एडास अन्तर्गतका १४ भन्दा बढी सुरक्षा फिचरहरू र ३६० डिग्री क्यामेरा प्रणाली उपलब्ध छ। बाहिरी सडकको अवस्था अनुसार यसमा रहेको एयर सस्पेन्सनले ग्राउन्ड क्लियरेन्सलाई २०० मिलिमिटरबाट बढाएर २३१ मिलिमिटरसम्म पुर्याउन सक्छ, जसले गर्दा कच्ची बाटोमा गाडी ठोक्किने डर हुँदैन।
६०० मिलिमिटरसम्मको पानीमा सहजै चल्न सक्ने यो गाडी १ करोड ९ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध छ । नेपालमा यो गाडी सेतो, कालो र खैरो रङ विकल्पमा उपलब्ध छ।
आधुनिक फिचर र शक्तिशाली ब्याट्री क्षमताले सुसज्जित यो गाडीको आगमनसँगै प्रिमियम इलेक्ट्रिक सवारीको प्रतिस्पर्धा थप रोचक बन्ने निश्चित छ। साहसिक यात्रा र सहरी सुविधा दुवै खोज्ने आधुनिक ग्राहकका लागि दीपल ई–०७ एउटा बलियो विकल्पका रूपमा स्थापित हुने देखिन्छ।

